इलाम । इलाम बजारमा आइतबार परम्परागत रुपमा मनाइँदै आएको रोपाइँ जात्रा सम्पन्न भएको छ ।
नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा जात्रा भएको हो ।
विशेष गरी नेवारी समुदायले मनाउने जात्रा पछिल्लो समय सबै समुदायको उत्तिकै सहभागिता रहने गरेको छ ।
जिल्ला सदरमुकाम लगायतका हाटबजार लाग्ने क्षेत्रमा समेत रोपाइँ जात्रा निकालिने गरिएको छ । इलाम बजार मंगलबारे र माइजोगमाईको शुक्रबारेमा रोपाइजात्रा सम्पन्न भइसकेको छ ।
परम्परागत रुपमा जनै पूर्णिमा र कृष्ण जन्माष्टमीको बीचमा हाटबजार लाग्ने दिन यो जात्रा मनाइँदै आएको छ ।
रोपाइँ जात्रा हेर्न जिल्ला भित्र र बाहिरबाट सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । राणाकालमा इलामका तत्कालीन वडाहाकिम गजराजसिंह थापाका पालादेखि यो जात्रा मनाउन सुरु गरिएको बताइएको छ ।
बि. सं. १९७२ देखि इलाम बजारमा रोपाइँ जात्रा देखाउन थालिएको आयोजक नेपाल भाषा तथा संस्कृति समाज इलामका अध्यक्ष प्रवीण श्रेष्ठले बताए ।
जात्रा अघि नाग पञ्चमीदेखि लाखे नाच आयोजना गर्ने गरिएको छ । लिम्बु समुदायले जात्राका अवसरमा धान नाच नाच्ने प्रचलन रहेको छ ।
असार साउन महिनामा रोपाइँ सकेपछि मैजारोको रुपमा रोपाइँ जात्रा मनाइने गरिन्छ । आफ्नो आफ्नो जातिय पोशाक लगाएका युवा युवतीले रोपाइँको अभिनय गरेर यो जात्रा मनाइन्छ ।
जात्रामा सडकमा मानिसहरुले हलगोरु जोतेको, बाउसे गरेको, रोपाहारले धान रोपेको अभिनय गरिन्छ । जात्रामा लाखे र मुङग्र्रेको पनि नाच आयोजना गर्ने गरिएको छ ।
यसअ असरमा परापूर्व कालमा निकालिको तर बीचचमा निकाल्न छोडिएको बनकाइँला बन काइँली समेत प्रदर्शन गरिएको थियो ।
Discussion about this post