इलाम । इलाम नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको अभ्यास र सकारात्मक पहलको उच्च मूल्याङ्कन गर्दै स्वास्थ्य खबर पत्रिकाले स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान गरेको छ ।
शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इलाम नगरपालिकाका प्रमुख केदार थापालाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
इलाम नगरपालिकाका जनप्रतिनिधिहरूको पारिश्रमिकबाट केही रकम कट्टा गरी स्वास्थ्य उपचार कोष स्थापना गरिएको र जसबाट विपन्न नागरिकहरूलाई स्वास्थ्य सुविधाको लागि सहयोग गर्दै आइएको नगर प्रमुख केदार थापाले बताए । नेपाल सरकारले कडा रोगीहरूलाई उपलब्ध गराउने सेवा सुविधाका लागि सिफारिस गर्दा नगरपालिकाले थप १० हजार रुपैयाँ सहयोग गर्ने गरेको उनजानकारी दिए ।
इलाम अस्पतालमा डायलोसिस सेवा सञ्चालनका लागि लागि आवश्यक जनशक्ति अभाव हुन नदिन इलाम नगरपालिकाले १ जना स्वास्थ्यकर्मी समेत उपलब्ध गराएको नगर प्रमुख थापाले बताए ।
नगरले इलाम अस्पतालमा आउने सेवाग्राहीहरूलाई सहजीकरणका लागि अस्पताल परिसरमा स्वास्थ्य हेल्प डेस्क सञ्चालन गरिरहेको छ ।
नगरपालिकाले झापाको बिएण्डसी अस्पतालसँग सहकार्य गरी विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर इलाम अस्पतालमा सञ्चालन गरेको र आगामी दिनमा पनि स्वास्थ्य शिविरलाई नियमित रुपमा सञ्चालन गरिने जनाएको छ ।
नेपाल सरकारको प्रत्येक प्रदेशमा १र१ वटा मेडिकल कलेज खोल्ने नीति बमोजिम इलाममा मेडिकल कलेज स्थापना गर्न इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान संयोजन समिति गठन गरी स्थानीय स्तरबाट सहयोग जुटाउन पहल भइरहेको नगरपालिकाले जनाएको छ ।
Discussion about this post