विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का कोसी प्रदेश उपाध्यक्ष तथा मोरङ अध्यक्ष राजकुमार यादवमाथि भएको दुर्व्यवहारविरुद्ध विराटनगर महानगरपालिमा प्रदर्शन भएको छ। जसपाका नेता कार्यकर्ताले महानगरपालिका परिसरमा शुक्रबार नाराबाजीसहित प्रदर्शन गरे ।
प्रदर्शनका क्रममा जसपाका केन्द्रीय सदस्य तथा प्रदेशका पूर्व स्वास्थ्यमन्त्री जयराम यादवले नगररक्षक नै नगरवासीको भक्षक भएको आरोप लगाए उनले भने, ‘नगर प्रहरीको ज्यादतीविरुद्ध जनता समाजवादी पार्टीले शान्तिपूर्ण आन्दोलन जारी राख्नेछ। घटनामा संलग्न भएका नगर रक्षकलाई कारबाहीको दायरामा ल्याउन माग गर्छौ।’
लोकतान्त्रिक समाजवादी पार्टी मोरङ अध्यक्ष अब्दुल कादिरले घटनामा संलग्न नगरप्रहरीलाई अविलम्ब कार्वाही गर्नुपर्नेमा जोड दिए। अध्यक्ष कादिरले जनतामाथि ज्यादती गर्ने कर्मचारीलाई कारबाही नगरे शान्तिपूर्ण आन्दोलन गर्ने उल्लेख गरे।
महानगरका मेयर नागेश कोइरालाले विरोधमा रहेका पक्षलाई छलफलका लागि आह्वान गरेका छन्। जसपाका विराटनगर इन्चार्ज मोहम्मद नसरुलका अनुसार छलफल आइतबार हुनेछ। बुधबार जसपाका प्रदेश उपाध्यक्ष यादवमाथि नगरप्रहरीको टोलीले दुब्र्यवहार गरेपछि विरोध सुरु भएको हो।
विराटनगरको कोसी अस्पताल नजिक रहेको एक औषधी पसल अगाडी व्हील लक लगाएर राखिएको सिटी सफारीको विषयमा विवाद बढ्दै गर्दा यादवमाथि दुर्व्यवहार भएको हो। घटनापछि दुवै पक्षलाई प्रहरी समक्ष राखेर मिलाउने प्रयास भएको थियो। यद्यपि, सो समय यादवका छोराले नगररक्षकलाई झापड हानेपछि थप विवाद चर्केको हो।
Discussion about this post