इलाम । इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा भदौ महिनामा दाताहरुबाट नौ लाखभन्दा बढी भेटी संकलन भएको छ ।
भदौ १ गतेबाट ३१ गतेसम्म ९ लाख १२ हजार चार सय ४५ रुपया संकलन भएको हो ।
मन्दिरमा आउने भक्तजनहरुबाट चढाइएको तथा दान गरेको भेटीलाई पछिल्लो मन्दिर व्यवस्थापन समितिले मासिक रुपमा सार्वजनिक गर्दै आएको छ ।
भक्तजनहरुबाट दान, भेटी, गोप्य दान, जिन्सी र अन्य सहयोग गरेर सो रकम संकलन भएको बताइएको छ ।
साउन महिनामा ४ लाख, ६३ हजार पाँच सय ८८ रुपयाँ भेटी संकलन भएको थियो ।
असारमा ११ लाख १३ हजार चार सय ३६ रुपयाँ संकलन भएको थियो । जेठमा २१ लाख, छ हजार नौ सय भेटी संकलन भएको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो समितिले लामो समयदेखिको हिसाब सार्वजनिक गर्न नसक्दा समस्या भइरहेको छ ।
अघिल्लो समितिले हिसाब नबुझाएपछि जिल्ला प्रशासन कार्यालय इलामको नेतृत्वमा छानबिन समिति गठन भएको छ । इलामका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानमिन समिति गठन भएको हो ।
गत जेठ २३ गते २५ दिनमा प्रतिवेदन तयार पार्ने गरी छानमिन समिति गठन भएको भएपनि हालसम्म सो समितिले प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन ।
समितिको पछिल्लो पटक म्याद थप भएर भदौ मसान्त भित्रमा प्रतिवेदन बुझाउने मिति तय गरिएको छ । तर यो समाचार तयार पार्दासम्म प्रतिवेदनका विषयमा छलफल भइरहेको जनाइएको छ ।
Discussion about this post