विराटनगर । प्रदेशको नाम ‘कोशी’ राखिएसँगै विरोध गर्दै आएका पहिचान पक्षधरहरूले आज प्रदेश राजधानी विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।
सुनसरीको इटहरीबाट मोटरसाइकल र्याली प्रदर्शन गर्दै उनीहरु विराटनगर आएका थिए । विराटनगर आएर उनीहरुले महेन्द्र चोकमा विरोध प्रदर्शन गरेका हुन् ।
‘कोशी नाम खारेज गर’, ‘मुख्यमन्त्री राजीनामा दे’ जस्ता नारा लगाउँदै प्रदर्शनकारीले विरोध गरे ।
जिल्ला प्रशासन कार्यालय मोरङले सोमवारदेखि विराटनगर महानगरपालिकाका केही स्थानलाई २ महिनासम्म निषेधित क्षेत्र तोकेको छ ।
प्रदेशसभा पूर्वमा रहेको देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म निषेधित क्षेत्र तोकिएको छ ।
यसैगरी, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपर क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालयको डाँफे चोकदेखि पूर्वी क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।
प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेको थियो । प्रदेशको नामकरणसँगै पहिचानवादी संगठनहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।
नामकरणको केही समयपछि आन्दोलनकारीले विराटनगर केन्द्रीत प्रदर्शन गर्दै आएका थिए । आन्दोलनका क्रममा पहिचान पक्षधर एकजनाको मृत्यु भएको थियो । पटक पटक भएका झडपहरुमा दर्जनौं प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए ।
Discussion about this post