काठमाडौँ । शिक्षकहरूका माग समेटेर विधेयक अघि बढाउने सहमति गरी आन्दोलनरत शिक्षकहरूलाई कार्यस्थलमा फर्काउने वातावरण बनाउन नेपाल ट्रेड युनियन कांग्रेसले सरकारसँग माग गरेको छ ।
ट्रेड युनियनका महासचिव अजयकुमार राईले शुक्रबार विज्ञप्ति जारी गर्दै संसद्मा पेस गरिएको विद्यालय शिक्षा विधेयक, २०८० लाई तत्काल फिर्ता लिई आन्दोलनरत शिक्षकहरूसँग व्यापक छलफल र परामर्श गरी शिक्षक महासंघले उठाउँदै आएका विषयहरूलाई सम्बोधन हुने गरी विधेयक ल्याउने सहमति गरी शिक्षकहरुलाई कार्यस्थलमा फर्कने वातावरण निर्माण गर्न माग गरेका छन् ।
‘सामाजिक, आर्थिक, राजनीतिक परिवर्तन एवं राष्ट्र विकासको एक महत्त्वपूर्ण आधारशिला शिक्षा क्षेत्रलाई प्रोत्साहित, मर्यादित र व्यवस्थित गर्नुको सट्टा शिक्षक महासंघ, नेपाल शिक्षक संघलगायतले विगत लामो समयदेखि सरकारलगायत सरोकारवालाहरूसँग उठाउँदै आएको माग, सुझाव एवं संवादको बेवास्ता गरी एकपक्षीय ढंगले सरकारद्वारा विधेयक संसद्मा पेस गर्नु नेपालको संविधान र लोकतन्त्रको आधारभूत सिद्धान्तविपरीत छ,’ महासंघको ठहर छ ।
कांग्रेसनिकट विभिन्न पेशागत संघहरुको महासंघ ट्रेड युनियनले शिक्षकहरुको आन्दोलन र जायज मागहरूमा ऐक्यबद्धतासमेत जनाएको छ ।
‘डामाडोल शिक्षा क्षेत्र, शिक्षक एवं कर्मचारीहरुको वृत्ति विकासको बेवास्ता, पेशागत एवं ट्रेड युनियन अधिकारको कुण्ठितलगायत मौलिक हकलाई अंकुश लगाउने कार्यको घोर विरोध गर्दै शिक्षक महासंघले उठाउँदै आएको जायज माग र आन्दोलनप्रति यस नेपाल ट्रेड युनियन कांग्रेसको हाल बसिरहेको राष्ट्रिय समिति बैठकबाट ऐक्यबद्धता जाहेर गर्दछौं,’ महासचिव राईले भनेका छन् ।
Discussion about this post