टोरन्टो। क्यानाडाका चिठ्ठा बेच्ने पसलहरूमा तपाईंले देखिसक्नु भएको होला यो शनिवार आजसम्म कै सबैभन्दा ठूलो धनराशी भएको ‘सिक्स फोर्टी नाइन’ चिट्ठा खुल्दैछ।
यो पटकको ‘गोल्ड बल ज्याकपट’ ६ करोड ६० लाख डलर पुगेको छ। यो नियमित ५० लाख डलर ज्याकपट भन्दा अलग हो। यो गोल्ड बल ज्याकपटको अहिलेसम्मकै उच्च रकम भएको जनाइएको छ।
अहिलेको ड्रमा दुईबटा बल मात्र बाँकी छन्ः एउटा सेतो र एउटा स्वर्णिम रङ्गको। यदि शनिबार स्वर्णिम रङ्ग बल ड्र भयो भने भाग्यमानीले ६ करोड ६० लाख डलर जित्नेछ। यदि सेतो बल पर्यो भने विजेताले १० लाख डलर जित्नेछ र कसैलाई परेन भने सेप्टेम्बर २७ बुधबारको अर्को ड्रमा ज्याकपट बढेर ६ करोड ८० लाख डलर हुनेछ।
पुरस्कार रकम यो भन्दा बढी भने हुँदैन। त्यस समयमा भने भाग्यशाली विजेताले ग्यारेन्टीका साथ ज्याकपट जित्नेछ।लोट्टो ‘सिक्स फोर्टी नाइन’ को इतिहासमा यस्तो पहिले कहिल्यै भएको थिएन।
लोट्टो ‘सिक्स फोर्टी नाइन’ स्वर्णिम बल ज्याकपटको लागि यस भन्दा अघिल्लो रेकर्ड ६ करोड ४० लाख डलर थियो। यसै वर्षको शुरुवातमा न्यु ब्रन्सविकको टिकटले त्यो चिट्ठा जितेको थियो।
लोट्टो ‘सिक्स फोर्टी नाइन’ क्लासिक ज्याकपटको अघिल्लो रेकर्ड ६ करोड ४० लाख डलर थियो, जुन २०१५ मा मिसिसागाकी एक महिलाले जितेकी थिइन्।
–‘नेपाल टच’ बाट
Discussion about this post