झापा । भद्रपुर नगरपालिका–२ मा कृषि आइपिएम कक्षा सञ्चालन गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना गरिएका संरचना प्रयोगविहीन बनेका छन् । पालिकाले करिब एक बिघा जमिनमा तारजालीको घेराबारा गरेर तरकारी खेतीका लागि तीन टनेल निर्माण तथा सेक्युरिटी गार्डका लागि भवन निर्माण गरेको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई लक्षित गरेर स्थापना गरिएका संरचना हाल प्रयोगविहीन भएको पालिकाका पूर्व प्रमुख जीवन श्रेष्ठले सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गरेका छन् । उक्त जग्गामा तरकारी नभइ झार जङ्गलले छोपेको उनको भनाइ थियो ।
विसं २०७७ मा वडा नं १ को कार्यालय अगाडि संरचना निर्माण गरिएको जनाउँदै उक्त जग्गा नगरपालिकाको रहेको श्रेष्ठले बताए । उनका अनुसार पालिकाले सो स्थानमा तरकारी र फूलखेतीलाई सिञ्चित गर्नका लागि दुई वटा बोरिङ समेत गाडेर भूमिगत पानी निकालेको थियो ।
हामीले श्रमिकलाई आयआर्जनमा जोडेर उनीहरुको जीवनस्तर उकास्ने र कृषि तालिम सेन्टरको रुपमा विकास गर्ने, आइपीएम कक्षा सञ्चालन गर्ने योजनाका साथ संरचना तयार गरेका थियौँ – पूर्व प्रमुख श्रेष्ठले भने – तर कर्मचारीको अकर्मण्यताले प्रयोगविहीन बन्यो । वर्षातको समयमा समेत पानी नजम्ने र तरकारी खेतीका उपयुक्त जमिन रहेकाले पालिकाले तत्काल सञ्चालन गर्नुपर्ने उनकोको भनाइ थियो ।
नगरपालिकाका रोजगार संयोजक टीकाराम पाण्डेले एक वर्ष मात्र उक्त जमिन बाँझो रहेको बताउँदै हाल सयपत्री फूलको बेर्ना र बोडी खेती भइरहेको जानकारी दिए । उनले पालिकाको कृषि शाखाले श्रमिकको सहयोगमा हाल दुई कठ्ठा जमिनमा सयपत्री फूलको बेर्ना र आठ कठ्ठा जमिनमा मलसिङ ९प्लास्टिक ओछ्याएर० प्रविधिको प्रयोग गरेर बोडी खेती गरिरहेको बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका कार्यक्रम विपन्न परिवारका लागि अल्पकालीन भएकाले उनीहरुको दीर्घकालीन आयस्रोत गराउने उद्देश्यले यो परियोजना सुरु गरिएको पाण्डेको भनाइ थियो । उनीहरुले दुई वर्षसम्म लगानी गरेर तरकारी उत्पादन गरे, राम्रो उत्पादन भयो, उनले भने – बजारीकरणको समस्याका कारण लगानी डुब्ने डरले गतवर्ष काम गरेनन् । पुनः अहिले कृषि शाखाको अगुवाईमा काम सुरु गरेका छौँ ।
पाण्डेका अनुसार नमुना कृषि पाठशालाको रुपमा यस स्थानलाई विकास गरेर पालिकाभरिका किसानलाई आवश्यक पर्ने कृषिजन्य वस्तुको बेर्ना उत्पादन र वितरण गर्ने योजना अनुरुप पूर्व नगरप्रमुख श्रेष्ठले यसको स्थापना गरेका थिए । यहाँबाट उत्पादन गरिएका तरकारीलगायत कृषिजन्य वस्तुको बजारीकरण पालिकाले निर्माण गरेका सटरमा राखेर बिक्री गरिने उनले बताए । उनले भारतीय तरकारीलाई विस्थापित गरेर नगरमै अग्र्यानिक तरकारी उत्पादन गर्ने अबको लक्ष्य रहेको जानकारी दिए ।
Discussion about this post