झापा । दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत कर्मचारी मेघराज राउतको आत्महत्या प्रकरणमा पक्राउ परेकी महिलालाई आत्महत्यालाई दुरुत्साहन मुद्धामा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले सहकारीका कर्जा अधिकृत राउतको मृत्यु प्रकरणमा पक्राउ परेकी दमक निवासी २७ वर्षीया दिब्या न्यौपानेलाई आत्महत्यालाई दुरुत्साहन मुद्धामा म्याद थप गरी अनुसन्धान अघि बढाएको हो । मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा न्यौपानेलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । पक्राउ परेकी महिला समेत सोही सहकारीमा कार्यरत रहेको बताइएको छ ।
गत बिहीबार अपराह्न दमक– ५ स्थित अन्नपूर्ण होटलको तेस्रो तलाको कोठामा उनी झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । जहाँ उनले सुसाइड नोट छोडेका थिए । सोही नाोटलाई आधारमान्दै प्रहरीमा किटानी जाहेरी परेको थियो ।
सुसाइड नोटमा ती महिलाले आफूलाई ट्रयापमा पारेको मृतक राउतले लेखेको प्रहरीले जनाएको छ । नोटमा ती कर्मचारीले आफूबाट निकै फाइदा लिएको , स्कुटर , सुन , कपडा लगायतका सामान किन्न लगाएको, धेरै रकम पनि लगेको उल्लेख गरिएको छ ।
३७ वर्षीय राउत बिहीबार बिहान करिब ९ बजेदेखि घरपरिवार र कार्यालयको सम्पर्क बाहिर थिए । प्रहरीले राउतले प्रयोग गर्दै आएको मोबाइल फोनबाट लोकेसन ट्र्याक गर्दै दमक– ५ स्थित मंगलदिप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्य भागमा रहेको अन्नपूर्ण होटल एण्ड लजको तेस्रो तलामा पुगेको थियो ।
Discussion about this post