काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक तयारीका लागि विभिन्न समिति गठन गरेको छ ।
सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महासमिति बैठकको तयारीका लागि समिति गठन गरेको हो ।
नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको जानकारी दिए ।
यस्तै, महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने समिति गठन गर्ने निर्णय भएको छ ।
विश्वकर्माले महासमिति बैठकका लागि आवश्यकताअनुसार थप समिति बनाउने अधिकार सभापतिलाई बैठकले दिएको जानकारी दिए।
बैठकले एक महिनाको अवधिमा गरिएका आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बिपी साहित्य महोत्सवलगायतका महत्वपूर्ण र प्रभावकारी भएको सम्बन्धमा समीक्षा गरेको छ । बैठकले नेपाल सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षा विधेयक’ लाई लिएर आन्दोलित शिक्षक र नेपाल सरकारबीच भएको वार्ता र सहमतिको हार्दिक स्वागत गरेको छ ।
यसैगरी कांग्रेसले नेपालीहरुको विभिन्न चाड पर्व क्रमशः भित्रिनै लागेको बेला प्रभावकारी बजार अनुगमन गरी कृत्रिम मूल्य नियन्त्रण तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर मापन गर्ने, उपभोक्ताको हितलाई ध्यानमा राखी आपूर्ति सहज र सुलभ बनाई उपभोगतालाई आश्वस्त पार्न सरकारसँग माग गरेको छ ।
‘दशैँको मुखमा बढेको महंगी नियन्त्रण हुनुपर्छ भनेर सरकारको ध्यानाकर्षण गराएका छौँ । आर्थिक मितव्ययिता कायम गर्नुपर्छ भनेर निर्णय गरेको छ । नयाँ संविधान कार्यान्वयन गर्न तत्काल आवश्यक कानुन निर्माण गर्न आग्रह गर्ने निर्णय गरेका छौँ ।
जनतालाई सुरक्षाको अनुभूति हुन सकेको छैन, उनले भने, ‘सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन आवश्यक रणनीति लिन सरकारलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । लम्पीस्किन, किसान, बाढीपहिरो प्रभावितका बारेमा राहत उपलब्ध गराउने निषयमा पनि सरकारको ध्यानाकर्षण गर्ने र सरकारलाई डेलिगेसन दिने निर्णय गरेका छौँ । शिक्षा विधेयकलाई सर्वस्वीकार्य बनाउनेबारे पनि निर्णय भएको छ ।’
बैठकले केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिएको नेपाल थारू सङ्घको विधान परिमार्जनसहित पारित गरेको छ । यसैगरी कांग्रेसले पार्टीका संस्थापक नेता, पूर्वसभापति, पूर्वप्रधानमन्त्री एवं सन्तनेता कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमा विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय भएको छ ।
Discussion about this post