झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा निर्माणाधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक बिल्डिङ्गमा प्रयोग भएको कमसल इँटा उद्योगमै फिर्ता पठाइएको छ ।
असोज ३ गते नगर प्रमुख पवित्रा महतारा प्रसार्इं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित जनप्रतिनिधि तथा कर्मचारीले गरेको अनुगमनमा ३ नम्बर इँटा प्रयोग भएको फेला परेको थियो । योसंगै प्रदेश खवरले समाचार प्रकाशन गरेको थियो ।
नगर प्रमुख प्रसाईले कमसल इँटा प्रयोग गरि बनाइएको वाल तत्काल भत्काउन र इँटा फिर्ता पठाउन निर्देशन दिएकी थिइन् । सोही अनुरुप वाल त्यसै दिन भत्काइएको र शनिबार र आइतबार गरी सात ट्याक्टर इँटा नमूना इँटा उद्योग हल्दिबारी–१ मा फिर्ता पठाइएको ठेकेदार कम्पनीका उमेश श्रेष्ठले जानकारी दिए । कमसल इँटा प्रयोग भएको पाइएपछि वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटाको नेतृत्वमा १५ सदस्यीय अनुगमन समिति निर्माण गरिएको छ ।
जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय समाजसेवीहरु रहेको यस समितिले कडाईका साथ बिहान–बेलुकी अनुगमन गरिरहेको वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । पाँच करोड ५६ लाख पाँच हजार तीन सय आठ रुपैयाँ ( भ्याट सहित)को लागतमा शिवालय आर.एस. जेभीले बिल्डिङ्ग ठेका लिएर निर्माण गरिरहेको छ ।
Discussion about this post