काठमाडौं । न्यायपरिषद्ले न्यायाधीशको परीक्षामा अनुत्तीर्ण हुनेहरु समेतलाई आन्तरिक मूल्यांकनका आधारमा २९ जना न्यायाधीश नियुक्त गरेको छ । यसरी नियुक्त हुनेहरु न्याय सेवा आयोगले लिएको परीक्षामा फेल भएका १५ जना छन् ।
परीक्षा पनि लिने र आन्तरिक मूल्यांकन भन्दै नियुक्त गर्ने प्रवृत्तिले न्यायाधीशको मनोबल गिर्ने मात्रै नभएर न्याय प्रणालीमाथीको विश्वाससमेत संकटमा पर्ने चेतावनी विज्ञहरुले दिएका छन् ।
जिल्ला न्यायाधीश नियुक्त गर्न न्याय सेवा आयोगले लिएको परीक्षामा २११ जना सहभागी भएकामा एकजना मात्र उत्तीर्ण भएका थिए ।
अधिकांश परीक्षार्थी फेल भएपछि न्याय परिषद्ले फेल भएकै मध्येका १५ जनालाई समेटेर २९ जना न्यायाधीश नियुक्त गर्यो । नियुक्त हुनेमध्ये एकजना परीक्षा पास भएका, १५ जना फेल भएका र आन्तरिक छनोटमा परेका १३ जना छन् ।
यसरी फेल भएकाहरुलाई नै न्यायाधीशमा नियुक्त परेर परीक्षा प्रणालीकै खिल्ली उडाइएका न्यायपरिषद्का पूर्वसदस्य बताउँछन् । यसले न्यायपालिकाको विश्वसनीयतामै प्रश्न उठ्ने न्यायपरिषद्का पूर्वसदस्य खेमनारायण ढुंगाना बताउँछन् ।
लोकसेवा आयोगको परीक्षा प्रणालीअनुसार न्याय सेवा आयोगले जिल्ला न्यायाधीशमा रिक्त ३८ मध्ये २९ का लागि खुला परीक्षा लिएको थियो । न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्की भने योग्यता र क्षमताअनुसार न्यायपरिषद्ले नियुक्त गर्न सक्ने व्यवस्थाअनुसार काम भएको दाबी गर्छन् ।
Discussion about this post