काठमाडौँ । कांग्रेस महामन्त्री गगनकुमार थापाले संविधान कार्यान्वयनका सन्दर्भमा देखिएका जटिलता महासमितिको बैठकमा छलफल हुने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको सोमवारको बैठक सकिएपछि सञ्चारकर्मीसँग उनले महासमितिको बैठकमा नीति महाधिवेशनले गर्नेसमेत काम गर्ने स्पष्ट पारे।
उनले संविधान संशोधन वा निर्वाचन प्रणालीमा पुनः समीक्षा गर्ने कुरा पनि महासमितिको बैठकमा छलफल हुने बताए। उनले कार्यसमिति बैठकमा नेताहरूले सरकार सञ्चालनका विषयमा सुझाव, चासो, आलोचना गरेको भन्दै त्यसलाई छलफल गर्ने बताए।
उनले कांग्रेसले अघिल्लो कार्यसमितिको बैठकबाट गरेका निर्णय सरकारलाई सुनाएकोमा माग पूरा नभएको अवस्था रहेकाले पुनः सरकारलाई स्मरण गराउने बताए।
उनले भने, ‘महासमिति बैठकको मिति तया भएको छ। महासमितिको बैठकमा नीति महाधिवेशनले गर्नेसमेत काम गर्ने भएकाले कांग्रेसको संविधान कार्यान्वयनका सन्दर्भमा देखिएका जटिलता संघीयता कार्यान्वयनलगायत विषय पार्टीको तर्फबाट जान्छ। संविधान संशोधनको कुरा होस्, चाहे निर्वाचन प्रणालीमा पुनः समीक्षा गर्ने कुरा होस्, यी कुरा त्यहाँ जान्छ।’
नेता प्रदीप पौडेलले महासमितिलाई भव्य बनाउन विभिन्न समिति बनाउने, विभिन्न दस्ताबेज तयारी गर्ने र अहिलेको राष्ट्रिय राजनीतिमा समसामयिक विषयबारे पार्टीको दृष्टिकोण सरकारप्रमुखसमक्ष लगेर बैठकले निर्णय गरेको बताए।
उनले पार्टीले कुन राष्ट्रिय मुद्दामा के निर्णय गरेको छ भन्नेबारे सरकार प्रमुखलाई जानकारी गराउने र सरकारलाई ती काम अविलम्ब गर्न दबाब दिने निर्णय भएको बताए।
Discussion about this post