काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ ।
वानजाउ स्पोर्टस सेन्टरमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजे खेल सुरु हुने छ ।
समूह डीमा रहेको नेपाल यसअघिका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । पहिलो खेलमा नेपाल भियतनामसँग २–० र दोस्रो खेलमा जापानविरुद्ध ८–० को फराकिलो अन्तरले पराजित भएको थियो ।
बंगलादेश पनि समूह चरणबाटै बाहिरिसकेको छ । उसले जापानविरुद्ध ८–० र भियतनामसँग ६–१ को हार बेहोरेको थियो । समूह चरणबाटै एसियाड यात्रा समाप्त गरेका दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन् ।
नेपालले प्रतियोगितामा १० गोल बेहोर्दा कुनै गोल फर्काएको छैन । आफ्नो अन्तिम खेलमा प्रशिक्षक बालगोपाल महर्जनको टोली पहिलो गोल र जितको खोजीमा हुनेछ । बंगलादेशविरुद्ध नेपाली महिलाहरुले राम्रो प्रदर्शन गर्दै आएका छन् । दुई टोलीले हालसम्म एकअर्काविरुद्ध १० खेल खेल्दा नेपालले ५ र बंगलादेशले १ खेल जितको छ । ४ खेल बराबरीमा सकिएका छन् । नेपाल बंगलादेशविरुद्ध विगतको नतिजा दोहोर्याउने योजनामा हुनेछ ।
एसियाडमै आज नेपालले अन्य ९ खेलमा पनि प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको पाँचौँ दिनसम्म पदकको खाता खोल्न नसकेको नेपालले आज स्क्वास, गल्फ, ई–स्पोर्ट्स, टेबल टेनिस, तेक्वान्दो, ब्याटमिन्टन, पौडी, बक्सिङ र फेन्सिङमा प्रतिस्पर्धा गर्दैछ ।
Discussion about this post