विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षसहित पदाधिकारी चयनका लागि आज मतदान हुँदैछ ।
निर्वाचन कमिटीका अनुसार बिहान ११ बजदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । अध्यक्ष पदमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने भएको छ ।
उपाध्यक्षमा भने टीकाराम चेम्जोङ निर्विरोध चयन भएका छन् । चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध उपाध्यक्ष बन्ने भएका हुन् ।
यसअघि पनि उनी प्रदेश कमिटी उपाध्यक्ष थिए । अब अध्यक्षसहित चार पदाधिकारीका लागि आज निर्वाचन हुने भएको हो ।
एक सचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ । सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीले उम्मेदवारी दिएका छन् ।
यस्तै दुई उपसचिव पदमा चार जनाले उम्मेदवारी दिएका छन् । भविश्वर गुरुङ, देवान राई, जलवर्षा राजवंशी र खेम नेपालीबीच उपसचिवमा प्रतिस्पर्धा हुने भएको छ ।
अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय १५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछन् ।
प्रदेश कमिटी सदस्यमा इलाम जिल्लाबाट १५ जना सदस्य सर्वसम्मत चयन भएका छन् ।
Discussion about this post