झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ४ मेघाबारी टोलमा निर्माण हुने कर्मयोग भवनका लागि बिर्तामोड–३ निवासी नन्दकुमार बस्नेतले दुई लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
बस्नेतले स्व. श्रीमती कृष्णमाया बस्नेतको स्मृतिमा कर्मयोग भवनलाई एक धुर जमिन खरिद गर्न उक्त रकम सहयोग गरेका हुन् । कृष्णमायाको छ महिनाअघि क्यानडामा रहेका छोरा–बुहारी भेट्न जाने क्रममा क्यानडाको एयरपोर्टमा मृत्यु भएको थियो । बस्नेतले मानिसले मरेर जाँदा केही नलाने तर कृति आजीवन रहने भएकाले कर्मयोग भवनका लागि सहयोग गरेको बताए ।
आफ्नै ठाउँमा पुण्य कर्म गर्न पाउँदा खुशी लागेको उनको भनाइ छ । बस्नेतलाई कर्मयोग भवन निर्माणको अगुवाई गरिरहेको सिद्धी विनायक भजन किर्तन मण्डलीले सम्मान गरेको छ । सिद्धी विनायक मन्दिर परिसरमा प्रशंसा पत्र र खदाले बस्नेतलाई सम्मान गरिएको थियो । किर्तन मण्डलीकी अध्यक्ष गीता पोखरेल, संयोजक शिवाकोटी र स्थानीयबासीले बस्नेतलाई सम्मान गरेका थिए ।
गत फागुनमा लगाइएको पुराणबाट संकलित रकमबाट १३ धुर जग्गा बहुउद्देश्यीय सामुदायिक भवनका लागि खरिद गरिएको र बाँकी रकमबाट कर्मयोग भवन निर्माणका लागि सवा १६ धुर जमिन बैना गरिएको शिवाकोटीले बताइन् ।
Discussion about this post