धरान, १७ असोज । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा मेयर हर्कराज राई र वडाध्यक्षहरुबीच चर्काचर्की भएपछि बैठक स्थगित भएको छ । बैठक स्थगित गरेपछि मेयर साम्पाङले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै कार्यपालिका बैठक बस्न नसके धरान उपमहानगरपालिका तोक आदेशबाटै चल्ने बताएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडाध्यक्षहरुबीच भनाभन हुँदा बैठक स्थगित भएको हो । धरानको घण्टाघरमा कार्यरत दुई जना कर्मचारीलाई निष्कासन गरेको विषयमा विवाद भएको थियो । निष्कासन गरेको कर्मचारीहरुलाई पुनर्वहाली गर्ने कि अनुदान दिने भन्ने विषयमा विवाद भएको हो ।
मेयर साम्पाङले कर्मचारीलाई बढीमा तीन महिनाको तलब अनुदान स्वरुप उपलब्ध गराउने प्रस्ताव गरेका थिए भने २ नं. वडाका वडाध्यक्ष रमेश राईले एक वर्ष सम्मका लागी पुनर्वहाली गर्न मत प्रस्तुत गरेका थिए । वडाध्यक्ष रमेश राईलाई समर्थन गद उ अन्य वडाध्यक्षहरुले समेत पुनर्वहाली गर्नुपर्ने मत राखेपछि मेयर साम्पाङले ‘कुनै हालत’मा पुनर्वहाली नगर्ने अडान राखेका थिए ।
मेयर साम्पाङले आफुले भनेको भन्दा अन्य निर्णय हुन नसक्ने भन्दै घण्टाघरको कर्मचारी सम्बन्धी प्रस्ताव नै बैठकबाट फिर्ता लिएका थिए ।
धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृकाप्रसाद भट्टराईले उपमहानगरपालिकामा पुराना कर्मचारी निकालेर नयाँ कर्मचारी राखेको विषयमा जवाफ दिएका थिए । त्यसबीचमा धरान– १७ का वडाध्यक्ष मनोज भट्टराईले घण्टाघरको कर्मचारीको विषयमा प्रश्न गरेपछि मेयर साम्पाङले वडाध्यक्षलाई ‘एकछिन नबोल्नु’ भनेका थिए ।
वडाध्यक्ष भट्टराईले आजको दिन वडासदस्य मनिष विष्टलाई कार्यवाहक दिएको पत्र देखाउदै मेयर साम्पाङले वडासदस्यलाई कार्यवाहक दिएर विदामा बसेको वडाध्यक्ष कार्यपालिका बैठकमा आउनु नै अवैधानिक भएको भनेपछि विवाद बढेको थियो । वडाध्यक्ष भट्टराईले नयाँ पत्रिकासँग भने –‘घण्टाघरमा मेयरले आफ्नो ज्वाईलाई कर्मचारी नियुक्ति गर्नुभएको छ र मैले त्यस विषयमा प्रश्न गरेपछि मेयर रिसाउनुभएको हो ।’
विवाद नसकिदै १० नं. वडाका वडाध्यक्ष विवेक राईले धरान उपमहानगरपालिकाको गाडीको दुरुपयोग गर्दै विदाको दिन शनिबार श्रमदाता बोक्न प्रयोग भएको बताए । उनले धरान उपमहानगरपालिकामा नयाँ नियुक्त भएका कर्मचारीको विवरण समेत नपाएको भन्दै वडासँग समन्वय नगरी सरुवा भएका कर्मचारीलाई वडामा हाजिर गर्न नदिने बताए ।
वडाध्यक्ष राईको प्रश्नको जवाफ दिदै मेयर साम्पाङले शनिबार उपमहनगरपालिकाको गाडी रोकेर देखाउन चुनौती दिएका थिए । आफुले राम्रो काम गर्दा समेत विरोध मात्रै गरेको भन्दै बैठक स्थगित गरेका थिए ।
Discussion about this post