विराटनगर/ नेपाल प्रहरीको सक्रियताले विराटनगरमा सम्भावित अप्रिय घटना टरेको छ । प्रहरीले बेलैमा सूचना प्राप्त गरेका कारण दुई समूहबीचको ‘ग्याङफाइट’ हुन नपाएको हो ।
प्रहरीले शंकास्पद व्यक्ति पक्राउ गरेपछि सम्भावित दोहोरो झडपका कारण हुनसक्ने मानवीय क्षति टरेको छ । ‘ग्याङफाइट’को तयारी गरेर घरेलु हतियार प्रदर्शन गर्दै हिँड्ने १५ जनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ । दोहोरो झडप गर्ने योजनासहित घरेलु हतियार बोकेर हिँडिरहेको समूहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाको साथबाट तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीलगायतका घरेलु हतियार बरामद गरिएको छ । ‘ग्याङफाइट’को योजना बनाएर हतियार बोकेर हिँड्ने मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल दास, ललनकुमार मेहता, सञ्जय मेहता र प्रेम चौधरीसहितलाई पक्राउ गरिएको जानकारी दाहालले दिए ।
पक्राउ पर्नेमध्ये ९ जना १८ वर्ष मुनिका छन् । दाहालका अनुसार शेखकविसहित २ जनालाई विराटनगरको घोघापुल चोक र अरुलाई शनिमन्दिर चोकबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये शेखकविको साथबाट तरबार फेला परेको हो ।
विराटनगरको एउटा कलेजमा अध्ययरत युवतीको विषयमा विवाद भएपछि घरेलु हतियारसहितको समूहबीच दोहोरो झडपको तयारी भइरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो । लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट परिचालित टोलीले घरेलु हतियारधारी समूहलाई पक्राउ गरेको हो ।
युवतीको विषयलाई लिएर केही दिनअघि पनि दुई पक्षबीच विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘युवतीको विषयलाई लिएर यसअघि पनि दुई पक्षबीच विवाद भएको रहेछ,’ डीएसपी दाहालले भने, ‘त्यही विवाद उत्कर्षमा पुगेकाले ‘ग्याङफाइट’सम्मको योजना बनाएको पाइयो ।’
दोहोरो झडपकै लागि घरेलु हतियार बोकेर हिँडिरहेकालाई पक्राउ गर्न प्रहरी सफल भएकाले सम्भावित घटना टरेको उनको भनाइ छ । ‘ग्याङफाइट’मा उत्रने तयारीमा रहेकामध्ये केही फरार छन् । उनीहरुको खोजी तीव्र पारिएको डीएसपी दाहालले बताए । उनका अनुसार प्रहरीको सक्रियताकै कारण ठूलो झडप र मानवीय क्षति हुनबाट जोगिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दाहालले दिए ।
Discussion about this post