झापा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् अग्रज नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको बताएका छन् ।
नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सिटौलाले २००७ सालदेखि अहिलेसम्मको ब्यवस्था परिवर्तन एवम् सरकार सञ्चालनको नीतिगत नेतृत्व कांग्रेसले नै गरेको बताउँदै निराश नबनी उत्साहका साथ संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आव्हान गरे । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले सडक, विजुली, खानेपानी, स्वास्थ्य, सञ्चार, शिक्षा लगायत पूर्वाधार निर्माण एवम् नीति निर्माणमा थुप्रै काम गरेको बताउँदै उनले यसको प्रचारप्रसार गरेर कांग्रेसप्रति जनआकर्षण बढाउन कार्यकर्तालाई आग्रह गरे ।
नेपालमा उडान भर्ने आकाशे मार्गको अनुमतिविना अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुभन्दा ७ वटा प्रादेशिक प्राविधिक शिक्षालय निर्माण, रोजगारमूलक शिक्षा, आय– आर्जनबृद्धि गर्ने खालका विकासे योजना ल्याउन सरकारलाई सुझाव दिए । कार्यक्रमका विशेष अतिथि एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस समाजको अभिभावक पार्टी भएको बताउँदै कांग्रेसकै काँधमा बढी जिम्मेवारी भएको बताए ।
हारको मानसिकताले निराश र जितको मानसिकताले बढी उत्साहित नभई संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आव्हान गर्दै नेता शर्माले सामाजिक एकतालाई कायम राख्ने गरी कांग्रेसले नीतिगत निर्णय गर्न जरुरी रहेको बताए । ‘मंसीर ४मा कांग्रेस निर्वाचित ठूलो दल भयो । पुस १०मा गठबन्धन टुट्यो र सत्ताबाहिर भयो, फेरि राष्ट्रपति निर्वाचनमा गठबन्धन बनेर कांग्रेस सरकारमा गयो, यी तीनवटै हारको मानसिकता राख्ने, उत्तेजित हुने विषय होइनन्’– शर्माले भने– ‘गाउँमा बेण्ड बाजा बज्दा नाच्न खोज्नु ठिकै हो तर मै बेहुलो बन्छु भन्ने धारणा राख्नुहुँदैन ।’ शर्माले सांकेतिक रुपमा नयाँ राजनीतिक दलले बेण्ड बाजा बजाए पनि परिवर्तनको आभाष दिन नसक्ने दावी गरे ।
मृत्युदण्डको सजाय दिइने देशमा समेत पीडित परिवारको सहमति लिएर मात्रै कारवाही गर्ने व्यवस्था रहेको उदाहरण दिँदै नेता शर्माले अपराधीलाई छोड्नु अघि पीडित परिवारको राय लिने कानूनी व्यवस्था नेपालमा पनि जरुरी रहेको धारणा राखे । राजनीतिक दलहरु समय अनुकूल परिस्कृत भएर आउने तर कहिल्यै बुढो नहुने बताउँदै नेता शर्माले कांग्रेसले सँधै समाजलाई केन्द्रमा राखेर निर्णय गरेको बताए ।
नेपाली कांग्रेसका कार्यकर्ताले अब अन्तरघात शब्द बिर्सिएर अन्तर विश्वासको मन्त्र जप्नुपर्नेमा जोड दिएका नेता शर्माले परीक्षाको भन्दा पढाइको चिन्ता गर्न कार्यकर्तालाई निर्देशन समेत दिए । २०८४को निर्वाचन एउटा स्वभाविक प्रक्रिया हुने बताउँदै नेता शर्माले संगठन बनाउन एकढिक्का भएर लाग्न आव्हान गरेका थिए । जिम्मेवारीका हिसावले जो जहाँ भए पनि संगठन निर्माणमा सबैको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले गाउँ–टोल र वडामा कांग्रेसकाप्रति फैलाइएको नकारात्मक भ्रम चिर्न समेत कार्यकर्तालाई आग्रह गरे ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे, केन्द्रीय सदस्यहरु नैनसिंह महर, सुशीला ढकाल आचार्य, गोमा भट्टराई लगायतले बोलेका थिए । नेपाली कांग्रेस झापाले हालसम्म गरेका गतिविधि एवम् भावी कार्ययोजना समेटिएको राजनीतिक सांगठनिक प्रतिवेदन पार्टीका उपसभापति केशवराज पाण्डेले प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाँईले गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।
Discussion about this post