विराटनगर / भारततर्फ लैजाँदै गरेको लागूऔषध गाँजासहित विराटनगरबाट आइतबार दिउँसो दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का २५ वर्षीय विवेक राय र २२ वर्षीय सुरज राय छन् । मोरङ प्रहरी प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले पैदल रहेका दुवै जनालाई विराटनगर–१४ बाट पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेकाको साथबाट छ किलो ६० ग्राम गाँजा बरामद भएको छ । बोरामा प्याक गरी काँधमा बोकेर नेपालबाट भारततर्फ गाँजा लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको डीएसपी दाहालले बताए । शंका लागेर प्रहरीले खानतलासी गर्दा बोराभित्र गाँजा फेला परेको थियो । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।
यसैबीच, विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित सुनसरीको इटहरीका एक जना आइतबार बिहान पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–४ का ३७ वर्षीय प्रदीप यादवलाई पक्राउ गरिएको डीएसपी दाहालले बताए ।
भारतको जोगवनीबाट ब्राउन सुगर लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण ब्युरोको टोलीले यादवलाई पक्राउ गरेको हो । पैदल रहेका यादवलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी दाहालले दिए ।
यादवलाई इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान अघि बढाएको छ । उनीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेको छ ।
Discussion about this post