विराटनगर / विराटनगर महानगरपालिका–९ मा रहेको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीले जन्माएको बच्चा शिशु बिक्री गरिएको घटनामा संलग्न चिकित्सकसहित ६ जनाविरुद्ध सोमबार मुद्दा दर्ता गरिएको छ ।
अभियुक्तविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण तथा व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसूरमा मुद्दा दायर भएको हो । घटनाको अनुसन्धान सकेर प्रहरीले मिसिल अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै ६ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको छ । प्रहरीले गत शुक्रबार वकिल कार्यालयमा मिसिल बुझाएको थियो ।
मुद्दामा विराटनगर महानगरपालिका–२ तीनपैनी घर भएका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय तपेश्वरलाल कर्ण, सिरहा घर भई विराटनगर–११ जनपथ टोल बस्ने ४० वर्षीया नीरु भनिने निर्मला यादव, भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई, मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी ३३ वर्षीया सुधा भनिने शुक्रि राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशीलाई प्रतिवादी बनाइएको छ ।
जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार इजलासमा प्रतिवादीहरुको बयान मंगलबारबाट सुरु हुने छ । उनीहरुको बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुने छ । बहस सकिएपछि प्रतिवादीहरुलाई साधारण तारेखमा वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश इजलासबाट आउने सुवेदीले बताए ।
अस्पतालबाटै बिक्री गरिएको नवजात शिशुलाई प्रहरीले मोरङको कटहरी गाउँपालिका–२ बाट गत भदौ ५ गते जीवितै उद्धार गरेको थियो । दिलमनीदेवीको घरमा शिशुलाई फेला पारिएको हो । अविवाहित युवतीले गत असार १४ गते जन्माएको शिशु छोरीलाई जन्मनसाथ अस्पतालबाटै गायव पारिएको थियो ।
प्रहरीको अनुसन्धानबाट डा तपेश्वरले बच्चा दिलमनीदेवीको परिवारलाई ५ लाख रूपैयाँमा बिक्री गरेको खुलेको छ । दिलमनीदेवीका छोरा सूर्यनारायणको बिहे भएको १० वर्षसम्म पनि सन्तान भएका थिएनन् । दिलमनीदेवीको परिवार बेवारिसे बच्चाको खोजीमा थियो । त्यही बेला अविवाहित युवतीले बच्चा जन्माएको खबर पाउनसाथ अस्पताल आएका आमा दिलमनीदेवी र छोरा सूर्यनारायणले ५ लाखमा शिशु किनेर लगेको अनुसन्धानबाट यकिन भएको छ ।
मुद्दामा प्रतिवादी बनाइएका गोविन्द शिशुका बाबु हुन् । बच्चाकी आमा अविवाहित युवतीलाई थाहै नदिइकन उनका प्रेमी अर्थात बच्चाका बाबु गोविन्द चिकित्सक डा. तपेश्वर र अस्पतालमा काम गर्ने कर्मचारीसमेतको मिलेमतोमा दिलमनीदेवीको परिवारलाई बच्चा बिक्री गरिएको पत्ता लागेको छ । डा तपेश्वर २०७० चैतदेखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट पूर्वमेसु थिए । उनको विराटनगर–९ मा दिपेश मेडिकल हल छ ।
तपेश्वरले ग्रीनक्रस अस्पतालमा कार्यरत सरसफाइ कर्मचारी सुधा भनिने सुक्रीमार्फत दिलमनीदेवीको परिवारलाई बच्चा उपलब्ध गराएका थिए । सुक्री दिलमनीदेवीको आफन्त रहेको प्रहरीले जनाएको छ । दिलमनीदेवीको परिवारले बच्चालाई एक सातासम्म विराट शिक्षण अस्पतालमा राखेर उपचार गरेको पनि पत्ता लागेको थियो । उपचारमा २ लाख रूपैयाँ खर्च भएको अनुसन्धानबाट थाहा भएको छ ।
प्रतिवादी बनाइएकीमध्ये निर्मला डा। तपेश्वरको दिपेश मेडिकलमा काम गर्ने स्वास्थ्यकर्मी हुन् । तपेश्वरको अवैध काममा सहयोग गर्दै आएकी उनले गर्भवती महिलालाई ग्रीनक्रस अस्पतालमा लगेर प्रसूति गराउने गरेको खुलेको छ । बिरामी ओसारपसार गर्ने बिचौलियाको भूमिकामा रहने उनको संलग्नता बच्चा बिक्री प्रकरणमा पनि देखिएको छ । प्रहरीले शिशुका बाबु गोविन्द र डा। तपेश्वरलाई भदौ १ गते र अन्यलाई भदौ ५ गते पक्राउ गरेको थियो ।
बिहे नभएकी २६ वर्षीया युवतीले ‘नर्मल डेलिभरी’मार्फत ग्रीनक्रस अस्पतालमा असार १४ गते नवजात शिशु छोरी जन्माएकी थिइन् । प्रेमी गोविन्दसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । गोविन्द र युवती २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट थाहा भएको छ । बिहे गर्ने प्रलोभन देखाएर गर्भवती बनाएपछि गोविन्दले युवतीलाई बच्चा जन्माउने भनेर विराटनगर ल्याएका थिए । सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको डा। तपेश्वरको दिपेश मेडिकल हल नामक क्लिनिकमा लिएर गए ।
क्लिनिकमा परीक्षण गरिसकेर पैसामा कुरा मिलाएपछि युवतीलाई तपेश्वरले प्रसूतिका लागि ग्रीनक्रस अस्पताल लगेका हुन् । गर्भवती युवतीलाई वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई डिस्चार्ज दिएर पठाइएपनि बच्चा भने जिम्मा लगाइएन ।
अस्पतालले बिदा दिएपछि युवतीलाई प्रेमी गोविन्दले सुनसरीको इटहरी लिएर गएका थिए । इटहरी लगेर होटलमा राखेपछि गोविन्दले छाडेर हिँडेको र सुत्केरी अवस्थाकी आफू अलपत्र परेको तथा जीवितै जन्माएको बच्चासमेत साथमा नभएको भनेर युवतीले साउन ३२ गते मोरङ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि घटनाको अनुसन्धान सुरु गरेको प्रहरी बच्चा सकुशल फेला पारेर बिक्री गरिएको घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो । प्रसूतिका क्रममा समेत युवती र उनका प्रेमी गोविन्दले चिकित्सकलाई ३५ हजार रूपैयाँ दिएको खुलेको छ ।
प्रहरीले अस्पतालका अध्यक्ष कृष्ण खवासलाई पनि पक्राउ गरेको थियो । उनीविरुद्ध मतियारमा मुद्दा चलाउनुपर्ने प्रहरीको रायविपरीत सरकारी वकिल कार्यालयले भने खवासलाई मुद्दा नचल्ने निर्णय लिएको छ । बच्चा बिक्री प्रकरणमा खवासको भूमिका पनि शंकास्पद देखिएको थियो । उनी असोज १ गते पक्राउ परेका थिए ।
फोटो क्याप्सन ः बच्चा बिक्री प्रकरणमा प्रतिवादी बनाइएकाहरु ।
Discussion about this post