खेमराज सापकोटा, इटहरी । कोशी प्रदेशको मुख्यमन्त्री को भन्ने कुरा राजनीतिक तहमा अन्तिम चरणमा पुगेको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको मुख्यमन्त्रीको रूपमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङवोलाई अगाडि सार्ने निर्णय गठबन्धन दलले गरेसँगै आगामी मुख्यमन्त्रीका सन्दर्भमा निचोड निस्कने अवस्थामा पुगेको हो ।
बिहीबार सत्ता गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताएका हुन् । सोही अनुसार भोली प्रदेश प्रमुखले दिएको समयभित्र आङवोलाई मुख्यमन्त्रीका लागि दाबी पेस गरिने नेपाली काँग्रेस कोशी प्रदेश सभाका प्रमुख सचेतक भूपेन्द्र राईले बताए । उनले प्रदेश खबरसँग भने, ‘शीर्ष नेतृत्वले टुङ्गो लगाइसकेको कुरोमा हामीले सहमति गरेर जानुपर्छ । भोली हामी बहुमतको हस्ताक्षरसहित प्रदेश प्रमुखकोमा जान्छौँ ।’
कोशी प्रदेशमा बहुमत पुग्न ४७ सिट आवश्यक पर्छ । कोशी प्रदेशमा सत्ता गठबन्धन दलमा रहेको नेपाली कांग्रेससँग २९, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादीसँग १ सिट छ ।
यता आङ्बोलाई मुख्यमन्त्री बनाउने सत्तारुढ गठबन्धनको निर्णय नमान्ने चेतावनी शेखर कोइराला पक्षले दिएको छ । आज बसेको गठबन्धनको शीर्ष बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको भए पनि शेखर पक्षले भने आफ्नो समूह र एमालेबिच गठबन्धन बन्ने दाबी गरेको छ । सो समूहका सांसद रामकुमार खत्री भन्छन् ‘संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्न पुग्ने सङ्ख्या आफूहरूसँग रहेकोले हामी केदार कार्कीलाई मुख्यमन्त्री बनाउन भोलि दाबी गछौं ।’
उनको यो भनाईमा नेकपा एमालेले साथ दिने सो समूहले विश्वास लिएको छ । नेकपा एमालेले ८ जना सांसदको हस्ताक्षर लिएर आए समर्थन गरिदिने बताएकोले त्यही अनुसार आफूहरू अगाडि बढ्ने उनले दोहो¥याए । मुख्यमन्त्रीको दाबी गर्दै आएका काँग्रेस नेता केदार कार्की भने आफूलाई गठबन्धनको निर्णय थाहा नभएकोले भोलिसम्म एउटा टुङ्गोमा पुग्ने बताउँछन् । उनीलगायत निकटका सांसद रणनीति बनाउन छलफलमा व्यस्त छन् ।
संविधानमा भएको व्यवस्था अनुसार नै अब बन्ने मुख्यमन्त्री जो कोही सांसद बन्न सक्छ । जसले बहुमत हस्ताक्षर बुझाएर प्रदेश प्रमुखसँग दाबी पेस गर्यो उही सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्नुपर्ने हुन्छ । यसो हुँदा प्रदेश सभामा ४० सिट भएको नेकपा एमालेको साथ पाएमा कांग्रेसभित्र ११ सांसद आफूसँग भएको दाबी गर्ने केदार कार्की मुख्यमन्त्री नियुक्ति हुने कुरालाई नकार्न सकिन्न । अर्कोतर्फ अहिलेसम्म नेकपा एमालेसँगै रहेको ६ सिट भएको राप्रपाले पनि सहयोग गर्ने सो समूहका नेताहरू बताउँछन् । त्यसो भयो भने एमाले केन्द्रको गठबन्धन भत्काउने रणनीतिमा एक कदम अगाडि बढ्न सक्ने जानकारहरू बताउँछन् ।
यता नेकपा एमाले संसदीय प्रमुख सचेतक रोवतिरमण भण्डारी भने‘अहिलेसम्म कुनै पनि दलसँग सरकारको बारेमा छलफल नभएको बताउँछन् । केदार कार्कीलाई समर्थन गर्ने सन्दर्भमा सामान्य कुरा भए पनि संस्थागत निर्णय गरेर आउन आफूहरूले भनेको उनले बताए ।
Discussion about this post