झापा । कोशी प्रदेशमा मुख्यमन्त्रीको दावी विवादित बनेको छ । विहीवार ४७/४७ जना सांसदको हस्ताक्षर सहित दुई जनाले मुख्यमन्त्रीमा दावी गरेपछि विवाद उत्पन्न भएको हो ।
नेपाली कांग्रेसबाट विद्रोह गरी प्रदेश सांसद केदार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । उनलाई कांग्रेसका अन्य सात जना सांसदले साथ दिएका छन् । कार्कीले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीको दावी गरेका हुन् । उनले आफूसहित कांग्रेसको आठ र एमालेको ३९ गरी ४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीका लागि दावी पेश गरेका हुन् । कार्की कांग्रेस नेता डा. शेखर कोइराला समूहका हुन् । उनले कोइरालाकै डिजाइनमा विद्रोह गरेको बताइएको छ । डा. कोइरालाले एमाले नेता केपी शर्मा ओलीसंग मिलेर कोशीमा आफ्नो नेतृत्वमा सरकार बनाउन गठबन्धनलाई सरप्राइज दिएका छन् । अब कोशीको मुख्यमन्त्रीमा केदार कार्की निश्चित जस्तै भएको आकलन गर्न सकिन्छ ।
यता गठबन्धनको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) सहितको गठवन्धनको समर्थनमा आङ्वोले पनि मुख्यमन्त्री दावी गरेका हुन् । आङ्वोले कांग्रेसका आठ सांसदको पुरानै हस्ताक्षर प्रयोग गरेको विद्रोह गर्ने कांग्रेस सांसदले बताएका छन् ।
कोशी प्रदेशमा सरकार बनाउने सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ देखिएको छ । शुक्रवार विहान त्यसबारे निर्णग गर्ने राप्रपाले जनाएको छ । कोशीमा गठबन्धन दलका तर्फबाट आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेस नेता कार्कीले विद्रोह गरेका थिए । कोशी प्रदेशमा आङ्वोलाई मुख्यमन्त्री बनाउन केन्द्रमा बुधबार विहान भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सहमति दिएका थिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसलाई समर्थन गर्न नसकिने बताएका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाउन लागेका थिए । कांग्रेस नेता कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित कार्की प्रदेश प्रमुख खापुङको कार्यालयमा पुगेका हुन् । उनीसँगै एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी लगायतका सांसदहरु पनि प्रदेश प्रमुख कहाँ पुगेका थिए ।
यता माओवादी नेता आङ्वोलाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा, नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राई, जनता समाजवादी पार्टीको संसदीय दल निमर्ला तावासहितका नेता प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । दुवै जनाले बहुमत (४७) प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन् । मुख्यमन्त्रीमा दावी गर्ने कार्की नेपाली कांग्रेसका प्रदेशसभा सदस्य हुन् । कांग्रेसको संस्थापनइतर अर्थात डा. शेखर कोइराला पक्षधर उनले नेकपा (एमाले)को समर्थन लिएर मुख्यमन्त्रीमा दाबी गरेका छन् । कांग्रेसका अन्य सात जना प्रदेशसभा सदस्यले पनि उनलाई साथ दिएका छन् । कार्कीलाई साथ दिने सांसदहरुमा शमशेर राई, रामकुमार खत्री, लीला राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू र सुनिता गुरुङ रहेका छन् ।
गठबन्धनले मुख्यमन्त्री बनाउने निर्णय गरेपनि आङ्बोलाई कांग्रेसको संस्थापनइतरका प्रदेशसभा सदस्यले साथ नदिएको र उनीहरुले कार्कीलाई समर्थन जनाएको बताइएको छ । प्रदेश प्रमुख खापुङले धारा १६८ को उपधारा ५ बमोजिम आज शुक्रवार अपरान्ह ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसको एक दिनअघि नै मुख्यमन्त्रीमा दुई जनाबाट दाबी पेश भएको हो । उक्त उपधारा अन्तर्गत बहुमत पु¥याउनसक्ने जुनसुकै प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्रीमा दाबी गर्न पाउँछन् ।
यसमा पार्टीको ह्वीप नलाग्ने हुँदा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा समर्थन गर्दा स्वविवेक प्रयोग गर्न पाउने संवैधानिक व्यवस्था छ । त्यही व्यवस्थाका आधारमा कांग्रेसको इतर समूह तथा एमालेका प्रदेशसभा सदस्यको साथ लिएर कार्कीले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।
आङ्बोले पनि ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनले गठबन्धनमा रहेका कांग्रेससहित माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी ( जसपा) का प्रदेशसभाको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् । यद्यपि, प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीका रूपमा कसलाई मान्यता दिन्छ भन्ने यकिन छैन ।
यसअघि एमालेसँगको गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नयाँ मुख्यमन्त्रीमा कसैलाई पनि समर्थन गरेको छैन । सरकार गठनका विषयमा निर्णय लिएर राप्रपाले शुक्रबार बिहानका लागि पदाधिकारी बैठक बोलाइएको थियो । राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पार्टीका तर्फबाट दुवै जनालाई समर्थन नगरिएको जानकारी दिए ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेले भने कांग्रेसका प्रदेशसभा सदस्य कार्कीलाई समर्थन गरेको छ । एमालेको प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमालेले मुख्यमन्त्रीमा कार्कीलाई साथ दिएको बताए । कांग्रेसको इतर समूहले आङ्बोलाई स्वीकार नगरेपछि कोशीमा गठबन्धनको सरकार बन्ने सम्भावना लगभग सकिएको आंकलन गरिएको छ । कोशीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ । गठबन्धन दल नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभामा एमालेका उपसभामुखबाहेक ३९ र हालसम्म एमालेसँगै गठबन्धनमा रहेको राप्रपासँग ६ जना प्रदेशसभा सदस्य छन् ।
Discussion about this post