इटहरी /संविधानमा भएको व्यवस्था अनुसार आफ्नै पार्टीभित्र विद्रोह गरेर कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त केदार कार्कीको जन्म आमा ईश्वरी(हाल गोलोकवासी) र पिता प्रेमबहादुरका कोखबाट २०३० पुस ७ गते भएको हो । सानैदेखि विद्रोही तर उपकारी र सहयोगी स्वभावका उनी विद्यालय कालदेखि नै राजनीतिमा होमिएका नेता हुन् ।
उनी आफू पढेको विद्यालय जनता उच्च माध्यमिक विद्यालय मधेसा इनरुवामा २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको इकाई सभापति भए । विद्यालय स्तरको शिक्षापछि उनको उच्च शिक्षा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट सुरु भयो । उनी यस क्याम्पसमा २०५२ सालमा नेविसंघकै क्याम्पस इकाई सभापति भए । यसपछि उनी नेविसंघकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे । उनी हाल नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा पनि क्रियाशील छन् ।
प्रदेश सभा सदस्यबाट सुरु भएको उनको संसदीय यात्राको दोस्रो आयाम संसदीय दलको प्रमुख सचेतकको सशक्त भूमिकामा देखियो । तेस्रो र प्रभावकारी आयामका रूपमा कार्की २०७८ भदौदेखि २०७९ पौषसम्म आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा काम गरे । मन्त्री भएर काम गर्दा आफ्नो मन्त्रालयलाई बेरुजु मुक्त बनाउनेदेखि सङ्घीयतालाई संस्थागत गर्ने काममा सफल नेताका रूपमा चिनिन्छन् ।
सङ्घीयताको कार्यान्वयन सँगसँगै कोशी प्रदेशको प्रदेश सभामा मोरङको क्षेत्र नम्बर ६ को २ बाट प्रदेश सभामा दोस्रो पटक नेपाली काङ्ग्रेसबाट निर्वाचित सांसद हुन् कार्की । पहिलो प्रदेश सभामा सबैभन्दा धेरै विशेष समयमा बोल्ने नेताका रूपमा कार्की प्रदेश सभाको सक्रिय सांसदका रूपमा सूचिकृत भएका सांसद हुन् ।
राजनीतिका साथसाथ नेता कार्की सामाजिक र शैक्षिक गतिविधिमा पनि संलग्न छन् । उनी पूर्वाञ्चल विश्वविद्यालयमा पूर्व सिनेट सदस्य हुन् । जुडो सङ्गठनका मोरङ जिल्ला अध्यक्षका हैसियतमा पनि उनले कार्य गरेका छन् ।
स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका कार्कीका पत्नीसहित २ छोरा छन् ।
Discussion about this post