विराटनगर / विराटनगरमा यातायात मजदुर मिलेर युवतीमाथि सामूहिक बलात्कार गरेको घटना बाहिर आएको छ ।
पीडितले दिएको किटानी जाहेरीका आधारमा बलात्कारमा संलग्न तीन जना यातायात मजदुरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो । तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ बर्से बालक अर्को ट्रकमा काम गर्ने सहचालक रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले तीन जना यातायात मजदुरले २५ वर्षीया युवतीमाथि विराटनगर महानगरपालिका–३ मा आइतबार बिहानका राति बलात्कार गरेको बताए । घटनामा संलग्नहरु आइतबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए । खाना खाएपछि सीटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरु फर्किएर आए ।
फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी डीएसपी दाहालले दिए । उनका अनुसार पार्किङ गरेर राखेको दुईवटा ट्रकको बीचमा रहेको खाली ठाउँमा पुर्याएर युवतीमाथि सामूहिक बलात्कार गरेको पाइएको छ । घटना थाहा पाएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका हुन् ।
पीडित युवती चिच्याउन थालेपछि स्थानीय एवं पैदलयात्रीले घटना थाहा पाएको र त्यसपछि प्रहरीमा खबर आएको दाहालले बताए । ‘घटनास्थलमा मानिसहरु जम्मा हुन थालेपछि तीनै जना दौडिएर ट्रकभित्र छिरेका थिए,’ उनले भने, ‘लगत्तै परिचालित प्रहरी टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको हो ।’
घटनापछि आक्रोसित बनेकाहरुले तोडफोड गरेर ट्रकको अगाडिको शिशा फुटाइदिएका छन् । दाहालका अनुसार पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइने छ ।
मोरङको लेटाङमा बलात्कारबाट बालिका गर्भवती
एक युवकले बलात्कार गरेर मोरङको लेटाङमा एक बालिकालाई गर्भवती बनाएको घटना सार्वजनिक भएको छ । लेटाङ नगरपालिका–१ का ३० वर्षीय कृष्णबहादुर मगरले बलात्कार गरेर १६ वर्षीया बालिकालाई गर्भवती बनाएको डीएसपी दाहालले बताए । प्रारम्भिक अनुसन्धानबाट मगरले पटकपटक बालिकालाई बलात्कार गरेको खुलेको छ ।
बालिका अहिले ६ महिनाकी गर्भवती छन् । पेट बढ्दै गएपछि र लामो समयदेखि महिनावारी रोकिएपछि अभिभावकले सोधीखोजी गर्दा बलात्कारबाट बालिका गर्भवती भएको पत्ता लागेको प्रहरीको भनाइ छ । दाहालका अनुसार २०७९ चैत २३ गते आफू बलात्कृत भएको र त्यसपछि पनि पटकपटक बलात्कार गरेको पीडितले बताएकी छन् ।
पीडित पक्षबाट किटानी जाहेरी परेपछि मगरलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर भीमलाल ओली नेतृत्वको टोलीले मगरलाई लेटाङ–३ बाट पक्राउ गरेको हो । लेटाङ प्रहरीले नै घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रहरीसमक्ष मगरले घटना स्वीकार गरेका छन् । उनीविरुद्ध मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थपको तयारी गरेको छ । मगरविरुद्ध जबरजस्ती करणी मुद्दा चलाइने प्रहरीको भनाइ छ ।
फोटो क्याप्सन / विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार भएको घटनास्थल ।
Discussion about this post