विराटनगर
कोशी प्रदेशमा रगतको चरम अभाव भएको छ । दसैंयता रगतको अभाव हुँदा बिरामीको उपचारमा समस्या हुन थालेको छ ।
प्रदेशमा रहेका १० वटै रक्तसञ्चार सेवा केन्द्र ब्लड बैंक०मा रगत पाउन छाडिएको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरले जनाएको छ । ब्लड बैंकहरुमा रगतको मौज्दात सकिएको र सार्वजनिक हिसाबले रक्तदान कार्यक्रम हुन नसक्दा अभाव खड्किएको हो । भनेका बेला रगत नपाउँदा दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने बिरामीहरु सबैभन्दा बढी मारमा परेका छन् ।
प्रदेशमा सधैं चाडपर्व र लामो बिदा भएका बेला रगतको अभाव हुने गरेको छ । तर, स्वास्थ्य संस्थामा रगत आवश्यक पर्ने बिरामीको संख्या भने दिनप्रति दिन बढ्दो छ । रगत अभावका कारण बिरामीले उपचारमा समस्या भइरहेको विराटनगरस्थित कोशी अस्पतालकी सूचना अधिकारी इन्दिरा यादवले बताइन् । ‘रगत आवश्यक पर्ने बिरामीको संख्या बढेपनि माग अनुसारको आपूर्ति हुन सकिरहेको छैन,’ उनले भनिन्, ‘तत्काल रक्तदानको नियमित व्यवस्था नगरिए अवस्था झन् भयावह बन्न सक्छ ।’
बिरामीको चापसँगै माग अत्यधिक बढ्दा रगतको अभाव भएको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवले बताए । पछिल्लो समय रगतको माग अत्यधिक बढेको उनको भनाइ छ । माग अनुसार आपूर्ति गर्न नसक्दा रगतको चरम अभाव भएको उनले बताए ।
चाडपर्वका समयमा सार्वजनिक हिसाबले रक्तदान कार्यक्रम र शिविरको आयोजना नहुँदा तथा संकलनमा कमी हुँदा रगतको अभाव भएको यादव बताउँछन् । दसैंयता प्रदेशभरि नै रक्तदान कार्यक्रम हुन सकिरहेको छैन ।
रगत पुर्याउन नसकेकै कारण बिरामीले सहज उपचार पाउने वातावरण नबनेको उनको भनाइ छ । यादवले बिरामीका आफन्त, सम्पर्कमा आएका व्यक्ति र स्वयंसेवी रक्तदाताबाट मुस्किलले रगतको व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताए । उनका अनुसार प्रदेशमा दैनिक एक सय ६० पिन्टभन्दा बढी रगतको माग छ । तर, आपूर्ति मुस्किलले ६० पिन्टजति मात्रै हुने गरेको उनको भनाइ छ ।
रगत दिनेभन्दा लिनेको संख्या धेरै हुँदा अवस्था जटिल बनेकाले तिहारलाई लक्षित गरेर आगामी शनिबारदेखि ३–४ वटाजति रक्तदान कार्यक्रम राखिएको यादवले बताए । उनका अनुसार रगतको संकट छठसम्म कायम रहने आंकलन गरिएको छ । प्रदेशमा रहेका १० वटै ब्लड बैंकमा अभाव हुँदा रगतको माग धान्न नसकिएको जानकारी उनले दिए । ‘नियमित रगत दिनुपर्ने बिरामीले समेत पाउन सकिरहेका छैनन्,’ यादवले भने, ‘चाडपर्व सकिएपछि आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।’
प्रदेश राजधानी विराटनगरका ठूला र सुविधा सम्पन्न अस्पतालमा कोशीसहित मधेस प्रदेश र भारतबाट बिरामी उपचारका लागि आउने गरेका छन् । ‘रगत अभावका कारण बिरामीलाई बचाउन मुस्किल परिरहेको छ,’ यादवले भने, ‘अभाव टार्न व्यक्तिगत पहलमा रक्तदान गर्नुपर्ने देखिन्छ ।’ विभिन्न ३ सयजति संघ संस्थाले वार्षिक हिसाबले रक्तदान कार्यक्रम आयोजना गर्ने गरेपनि चाडपर्वका बेला सधैं रगतको अभाव हुने यादवले बताए ।
Discussion about this post