विराटनगर
कोशी प्रदेश सरकारका बिनाविभागीय मन्त्री रामबहादुर रानामगरले शनिबार राजीनामा दिएका छन् ।
उनी नेकपा (एमाले)का तर्फबाट प्रदेश सरकारमा सहभागी भएका थिए । मुख्यमन्त्री केदार कार्कीको निवासमा पुगेर रानाले राजीनामा बुझाएका हुन् । उनको राजीनामासँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको छ ।
गठबन्धनबाट विद्रोह गरेका नेपाली कांग्रेसका ८ र एमालेका ३९ सहित ४७ जना प्रदेशसभा सदस्य (सांसद)को समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए । उनले सरकारमा गठबन्धनलाई भित्राएपछि एमालेले सरकार छाडेको हो । एमालेले सरकार छाडेपछि कोशीमा विद्रोही कांग्रेस र एमालेबीचको सत्तासहकार्य टुटेको छ ।
कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गत असोज २७ गते मुख्यमन्त्री बनेका थिए । त्यसको भोलिपल्ट असोज २८ गते उनले कांग्रेसका विद्रोही शम्शेर राई र एमालेका रानालाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए । कार्कीलाई कात्तिक १ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाहेकका दलले विश्वासको मत दिएका थिए ।
कोशीमा गठबन्धनका अन्य दल बिना नै कांग्रेस र एमालेको मात्रै सरकार बनाउनुपर्नेमा एमालेको जोड थियो । अन्य दललाई सहभागी गराएमा सरकार छाड्ने चेतावनी एमालले दिँदै आएको थियो थियो । तर, मुख्यमन्त्री कार्कीले माओवादी र नेकपा (एकीकृत समाजवादी)लाई शुक्रबार सरकारमा सहभागी गराए ।
माओवादीबाट गणेश उप्रेती र समाजवादीबाट कमलप्रसाद जबेगू मन्त्री बनेका छन् । एमालेसँगको सहमति मुख्यमन्त्रीले कार्यान्वयन नगरेपछि आफूले पदबाट राजीनामा दिएको रानाले बताए । एमालेले प्रदेशको अस्तव्यस्त राजनीतिलाई निकास दिनलाई केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको उनको भनाइ छ । केदार कार्कीले गठबन्धनमै रहन्छुभन्ने आशय व्यक्त गरेपछि एमालेले सरकार छाडेको राना बताउँछन् ।
कार्कीले आफू मुख्यमन्त्री बनेपछि भने सहमतीय सरकार निर्माणमा जोड दिएका थिए । सत्तारुढ गठबन्धन दलसँग शुक्रबार छलफल गरेपछि उनी अन्ततः एमालेलाई छाडेर गठबन्धनमा फर्किएका छन् ।
एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अब सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइने बताए । उनले सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा आगामी सोमबार बस्ने पार्टीको संसदीय दलको बैठकबाट निर्णय लिइने जानकारी दिए ।
Discussion about this post