जाजरकोट । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन÷तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
शुक्रवार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
जाजरकोट र रुकुम पश्चिमलाई रु. पाँच÷ पाँच करोड सहायता उपलब्ध गराउने
सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल रु. पाँच÷पाँच करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिवार बसेको सरोकारवालाको बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । कम्बल, पाल, खाद्यान्न पठाउने काम भइसकेको र अपुग भएको अवस्थामा तुरुन्तै खबर गर्न प्रादेशिक सरकार र जिल्ला व्यवस्थापन समितिलाई निर्देशन दिइसकिएको बैठकपछि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।
जिल्ला विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रबाट आवश्यक सम्पूर्ण जनशक्ति खटिइएका छन् । संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर पीडितको खोजी, उद्धार र राहतका काम अगाडि बढाइरहेका छौँ– उनले भने ।
भूकम्पका कारण अवरुद्ध सडकलाई केही घन्टाभित्रै खुलाउने गरी सडक विभागलाई निर्देशन दिइएको उनले जानकारी दिए । भूकम्पमा परी घाइते भएकाको स्वास्थ्य उपचारका निम्ति चिकित्सक प्रभावित क्षेत्रमा पुगिसेकेको, स्वास्थ्य सामग्रीका साथै औषधि प्रभावित क्षेत्रमा पुगिसकेको उनको भनाइ छ ।
थप सामग्री आवश्यक परेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालै व्यवस्था गर्ने निर्णय भएको छ– उपप्रधानमन्त्री श्रेष्ठले भने ।
मृतकको शव व्यवस्थापनका लागि विशेष टोली खटिएको जानकारी दिँदै उनले सो टोलीले मुचुल्कासहित आवश्यक सदगत्को व्यवस्था गर्ने बताए । उद्धारका लागि सबै सुरक्षा निकाय खटिएको, थप सुरक्षा बल त्यसतर्फ पठाइने उनले जानकारी दिए ।
उद्धार र राहतमा सहकार्यमा जुट्न आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गरेका छन् । गएराति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूति सुन्न, घाइतेको उद्धार र पीडितको राहतका निम्ति आफू प्रभावित क्षेत्रमा पुगेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । प्रधानमन्त्री बिहानै स्वास्थ्यकर्मी र राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए । प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षतिको स्थलगत अनुगमनका साथै घाइतेको उद्धारका लागि आफू चढेर गएको नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेका उद्धार गरेका थिए । प्रधानमन्त्री दाहालले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै पीडितको साथमा सरकार रहेको भन्दै नआत्तिन आग्रह गरेका छन् । यस्तै सरकारले जाजरकोट र रुकुमपश्चिमका लागि तत्काल रु. पाँच÷पाँच करोड बराबरको बजेट उपलब्ध गराउने निर्णय गरिसकेको छ । भूकम्पपीडितलाई राहतका लागि आवश्यक निर्णय गर्न प्रधानमन्त्री दाहालले आइतबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
भूकम्प प्रभावितलाई सहयोग गर्न महासंघको अपिल
नेपाल उद्योग वाणिज्य महासङ्घले भूकम्प प्रभावितका लागि राहत सामग्री उपलब्ध गराउन सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । महासंघले प्रभावित जनतालाई आर्थिकलगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीलगायत अत्यावश्यक सामग्री सहयोग गर्न सबै सदस्य सङ्घसंस्था, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीमा अपिल गरेको हो । जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण त्यस क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति महासङ्घले दुःख व्यक्त गरेको छ । महासंघले भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । महासंघले सबै सदस्य उद्योग वाणिज्य संघहरू, उद्यमी व्यवसायी र व्यावसायिक संघ–संस्थालाई उद्धार र राहतमा सहयोग गर्न आह्वान गरेको छ । भूकम्प प्रभावित जनताको सहयोगका लागि महासंघले आफ्नातर्फबाट पहल गरिसकेको छ भने राहत र उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढाउन सरकारसमक्ष अनुरोध गरेको छ । सहयोग गर्न चाहनेहरूका लागि महासंघको स्वास्थ्य तथा विपत् व्यवस्थापन समितिका सभापतिको नेतृत्वमा एक समितिसमेत गठन गरिएको छ ।
सक्रिय बनायो इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर
सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर’ (इटीसी)लाई सक्रिय बनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्वानमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शनिवार बसेको बैठकले क्लष्टरलाई सक्रिय बनाउने निर्णय गरेको हो । बैठकले भूकम्प प्रभावित क्षेत्रमा टेलिफान तथा इन्टरनेट सेवा सञ्चालन गर्न सेवा प्रदायकलाई अनुरोध गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणले सोको समन्वय, अनुगमन र आवश्कयताअनुसार स्रोत परिचालनको व्यवस्थापन गर्ने निर्णय गरेको छ । त्यस्तै सेवा प्रदायकहरुले सेवालाई प्रभावकारी बनाउन सम्पर्क विन्दु र सम्पर्क व्यक्ति तोक्ने र निन्तर सम्पर्कमा रहने पनि बैठकले निर्णय गरेको छ । बैठकले भूकम्प प्रभावित क्षेत्रबाट सत्यतथ्य, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत अनुरोध गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । बैठकले केन्द्रीय र जिल्ला आपतकालीन केन्द्रसँग निरन्तर सम्पर्कमा रहने निर्णय पनि गरेको छ । बैठकमा नेपाल टेलिकमका पदाधिकारीहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा आधारभूत दूरसञ्चार सेवा निःशुल्क गरेको जानकारी दिएका थिए । बैठकमा मन्त्री शर्मा, मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल पत्रकार महासङ्घलगायत दूरसञ्चार तथा आमसञ्चार क्षेत्रका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । पा“च दिनका लागि नेपाल टेलिकमको सेवा निःशुल्क नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले भूकम्प प्रभावित ती क्षेत्रमा पाँच दिनका लागि फोन तथा म्यासेज निःशुल्क गर्ने निर्णय गरेको सञ्चार मन्त्रालयका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । हाल भूकम्प प्रभावित रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवा सञ्चालन रहेको टेलिकमले जनाएको छ । कम्पनीले यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवालाई नियमितरुपमा सञ्चालन राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । सूचना आदानप्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकलाई पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराइको कम्पनीले उल्लेख गरेको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवासहितको निःशुल्क सिम उपलब्ध गराइने टेलिकमका प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । उक्त सिम कम्पनीको सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट कार्यालयबाट उपलब्ध हुने उनले बताए । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा उपलब्ध गराइनेछ ।
‘जाजरकोट भूकम्प बझाङको परकम्प होइन’
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिएका छन् ।
उनले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प भएको बताए । उक्त भूकम्पको केन्द्र जमिनको सतहदेखि १० देखि १५ किलोमिटर भित्र रहेको उनको भनाइ छ । साथै सो भूकम्पपछि आज नै चारवटा परकम्प गएको पनि बताइएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि एक घण्टामा चार परकम्प गएको हो । केन्द्रका अनुसार सोही स्थान केन्द्रविन्दु भएर १२ बजेर ८ मिनेटमा ४ दशमलव ५, १२ बजेर २९ मिनेटमा ४ दशमलव २ र १२ बजेर ३५ मिनेटमा ४ दशमलव ३ रेक्टरस्केलको परकम्प गएको हो ।
Discussion about this post