धनकुटा। पूर्वी पहाडलाई तराई र संघीय राजधानी काठमाण्डौंसँग छोटो दुरीमा जोड्ने राष्ट्रिय गौरवको तमोर करिडोर आयोजनाको झण्डै २० प्रतिशत काम पुरा भएको छ । सुनसरीको चतरा हुँदै ताप्लेजुङ्गको ओलाङचुङगोला जोड्ने एक सय ४१ किलोमिटर लामो यो दुर्तमार्गले दुर्गममा ढुवानी र यातायात सुविधा बिस्तारसँगै अरु ब्यवसायिक संभावनाको ढोका खोलेको छ । धनकुटाको मुलघाटहुँदै पाँचथर र ताप्लेजुङ्गसम्म तमोर करिडोरमा ढुवानी र यातायातका साधन संचालन हुन थालेपछि छथर जोरपाटीको तेलियाका हरिप्रसाद ओझाले फलामेटार झरेर होटल खोलेका छन् ।
जताबाटो उतै ब्यपार भनेझै, ओझा जस्ता अन्य ब्यबशायि राजमार्ग पछ्याउँदै ब्यपार ब्यबशायमा लागेका छन् । बाटो हिड्ने मान्छेले पानी नपाउँने ठाउँमा पनि अब सुबिधायूक्त होटल खुल्न थालेको ओझाले सुनाए । सडक संचालनमा आइसकेपनि बीचमा पर्ने खोलानालामा पुल नबन्दा समस्या परेको उनले बताए । ‘बाटो मात्रै बनेर भएन, पुल बिना बाटोको के काम ?’ ताप्लेजुङ्ग र पाँचथर जाने आउने यात्री उनकोमा खाना र खाजा खान बिसाउँने गरेका छन् ।
यातायात र ढुवानी सहज भएपछि करिडोर आसपासका किसान ब्यबशायिक तरकारी खेतिमा लागेका छन् । तमोर करिडोर भएर ताप्लेजुङ्ग र पाँचथरबाट मुलघाट हुँदै धरानसम्म दैनिक सयौं ढुवानी र यातायातका साधन ओहोरदोहोर गर्छन् । सुभाङ्ग, माझिटार, रानीगाउँ, स्यावरुम्वा, आङ्ना, हंसमोरङ्ग, फलामेटार, मुलघाट लगायतका ठाउँमा नयाँनयाँ होटल, कृषि फार्म र घरहरु थपिदै छन् । हंसमोरङ्गका गोबिन्दबहादुर बस्नेत भन्छन, ‘फलाउँन सके बोक्न केहि पर्दैन बारीमै आएर लान्छन्, तर भारी पुग्ने गरि दिन सकेका छैनौं ।’ तमोर करिडोरमा यातायात चल्न थालेपछि वरिपरिका मान्छे गड्तीर झर्न थालेको उनले सुनाए । बैदेशिक रोजगारीमा रहेकाहरुले सडक छेउमा पक्की घर बनाएर पसल र ब्यबशाय सुरु गरेका छन् ।
‘धरानबाट नुन खेपेर बाचेका हामि । अहिले बारीबाटै घोगा बेच्न थालेका छौं, चौविसे ४ कि गंगा बस्नेत भन्छिन ।’ तरकारी र हरिया मकै बारीबाटै बेच्न पाउँदा उनले खुसी महशुस गरिन् । भन्छिन्, ‘आम्दानी बढेको छ, पाखुरा बजार्न सक्ने यहाँ अब भोकले मर्दैन ।’ ब्यबशायिकरुपमा बाख्रा पालन गर्ने किसानको संख्या बढेको छ । यातायातको सुविधाले बिरामी र साह्रोगाह्रो पर्दा पनि सहज भएको छ । घरैपिच्छे मोटरसाइकल जस्ता सवारीका साधन छन् । ब्यबशायिले सडकमार्गको बीचबीचमा पेट्रोल पम्प संचालनको तयारी गरेका छन् ।
करिडोरबाट यात्रा गर्नेहरु गड्तीरमा लगाइएको तरकारी र अन्नका फाँटको दृष्य हेरेर अघाउँदैनन् । तमोर किनारको फाँटिलो जमिन उत्पादनका लागि उर्वर मानिन्छ । ६ अर्ब १५ करोड १४ लाख रुपैयाँ लागतको यो तमोर करिडोर आयोजनाको पाँचथर गणेशचोकदेखि धनकुटा मुलघाटसम्मको एक सय १० किलोमिटरमा कालोपत्रेका लागि ठेक्का लागेको छ । २०६६ सालमा ट्र्याक खोल्न सुरु गरिएको आयोजनाको काम आगामी तीन बर्षभित्र पुरा गर्ने लक्ष्य रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
सुनसरीको चतरादेखि र ताप्लेजुङ्ग ओलाङचुङगोला सम्मको एकसय ४१ किलोमिटर खण्डभीत्र तमोर नदिमा चार र अन्य खोलामा ११ गरि १५ वटा पुलको आवश्यकता छ । यी मध्ये केहि पुल निर्माणको काम सुरु भएको छ । छरुवा खोलामाथि बन्ने पक्की पुलको प्रारम्भीक काम अघि बढेको छ । तमोर नदी किनारै किनार खोलिएको यो सडकले यात्रा मात्रै छोट्याएको छैन, स्थानीयलाई खाद्यबस्तु आयात र आफ्ना उत्पादन निर्यात गर्न सहज पनि भएको छ ।
Discussion about this post