इलाम : जिल्ला प्रहरी कार्यालय इलामले २३ जना फरार अभियुक्त पक्राउ गरेको छ । प्रहरीले दुई महिनाको अवधिका लामो समयअघिदेखी फरार रहेका सो संख्यामा प्रतिबादी पक्राउ गरेको हो ।
बिभिन्न मितिमा अदालतबाट दोषी ठहर्याई कैद तथा जरिवाना तोकिएका उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश जबेगुले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, बिष्फोटक पदार्थ, चोरी, सवारी ज्यान, वन, बहुविवाह, कुटपिट, घरेलु हिंसा र सार्वजनिक अपराध मुद्दाका प्रतिवादीहरु रहेका छन् ।
इलाम जिल्लामा मात्र नभई अन्यत्र जिल्ला समेत लुकीछिपि बसेका फरार प्रतिवादीहरुलाई साधा पोसाकमा प्रहरी परिचालन गरी पक्राउ गरिएको हो । पक्राउ परेकालाई अदालतमा पेस गरी थुनाको लागि कारागार इलाम पठाईएको छ ।
लामो समयदेखि फरार रहेको प्रतिवादी पक्राउ पर्नुले समाजमा शान्ति सुरक्षाको स्थिति थप सुदृढ भएको प्रहरीको दावी छ ।
सर्वसाधरण नागरिकले सुरक्षाको अनुभव गर्न पाएको र पीडित परिवारले समेत राहत पाएको अनुभति गरेका बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामले बाँकी रहेका फरार प्रतिबादी समेतलाई पक्राउ गर्न थप तिब्रता दिएको जनाएको छ ।
Discussion about this post