संस्थाको ३१ औँ वार्षिक साधारण सभाका लागि बिर्तामोडमा माइन्युट प्रमाणित सभा सम्पन्न गरेको हो ।
गत मङ्सिर २ गतेदेखि सात वटा इकाईमा इकाई गत साधारण सभा सञ्चालन भई मङ्सिर ८ गते पूरा भएको थियो । संस्थाका ५८ वटै कार्यालय स्तरमा भएका उप इकाई गत साधारण सभाबाट छानिएर आएका प्रतिनिधिसहितको सहभागितामा माइन्युट प्रमाणित सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदनका मूलभूत विषयहरू माथि चर्चा गरेका थिए ।
यसैगरी सो कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक रचना दाहालले गत आर्थिक वर्षमा संस्थाको सञ्चालक समिति बैठकले गरेका निर्णयहरू कार्यान्वयनको अवस्था समेटिएको प्रतिवेदन प्रस्तुत गरिन् ।
राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा बिर्तामोडमा सञ्चालन गरिएको सो सभामा संस्थाका उपाध्यक्ष विष्णुप्रसाद गौतमले उप इकाई गत साधारण सभा बाट प्राप्त ७८ वटा विशेष सुझावहरूलाई हल समक्ष प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष सिवाकोटीले साधारण सभा हलमा नै ती प्रश्नहरू माथि संस्थाको आधिकारिक धारणा राख्दै प्राप्त कतिपय सुझावहरूलाई कार्यान्वयनका लागि पहल गरिरहने प्रस्ट पारेका थिए ।
सो अवसरमा एनएमसीले संस्थामा २५ वर्षभन्दा बढी समयदेखि कार्यरत दुई जना कर्मचारीहरूलाई १० ग्राम सुनको सिक्कासहित र १० वर्षभन्दा लामो अवधि काम गर्ने ४६ जनालाई ५० ग्राम चाँदीको सिक्कासहित दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ ।
संस्थाका अधिकृत कर्मचारी पारसचन्द्र भट्टराई र वरिष्ठ सहायक प्रथम दुर्गा बराल २५ वर्षभन्दा लामो अवधि लगातार काम गरेर दीर्घ सेवा पदकबाट विभूषित भएका हुन् ।
यसैगरी आर्थिक वर्ष २०७९/०८० मा घोषित विभिन्न विधाका उत्कृष्ट चार जना कर्मचारीहरूलाई पनि सोही अवसरमा पुरस्कार प्रदान गरिएको थियो ।संस्थाले वर्ष उत्कृष्ट कार्यालय प्रमुखको पुरस्कार बिर्तामोडका तत्कालीन प्रमुख हरिमाया ओझालाई समर्पण गर्यो ।
यस्तै, वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार प्रधान कार्यालयका वरिष्ठ सहायक तेस्रो सदिच्छा अधिकारीलाई, वर्ष उत्कृष्ट सदस्य सहजकर्ता बिर्तामोडका रुकमणि शर्मा नेपाललाई र व्यवसाय वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार कार्यालय सहायक छैटौँ महेन्द्रबहादुर बानियाँलाई प्रदान गरिएको थियो ।सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष पोखरेलले सहकारी अभियानको वर्तमान अवस्था र सहकारी अभियानकर्मीले अब खेल्नुपर्ने भूमिकाका सन्दर्भमा सारगर्भित मन्तव्य राखेका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको सो समारोहमा आमन्त्रित अतिथि एवम् सहभागीहरूलाई संस्थाका वरिष्ठ उपाध्यक्ष भगवती घिमिरे मैनालीले शाब्दिक स्वागत गरेकी थिइन् ।
माइन्युट प्रमाणित सभामा संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले विशेष मन्तव्य राखेका थिए ।
समारोहमा कोसी प्रदेश उद्योग तथा कृषि र सहकारी मन्त्रालयका सचिव लेखनाथ दाहाल, निमित्त सहकारी रजिस्ट्रार हरिबहादुर खत्री, झापा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता रोक्कालगायतले सम्बोधन गरेका थिए ।
Discussion about this post