बराहक्षेत्र /बराहक्षेत्र नगरपालिकाले नगरभित्र रहेका ५७ वटै सामुदायिक विद्यालयहरूमा उपचारात्मक कक्षा (अतिरिक्त कक्षा) सुरु गरेको छ ।
सामुदायिक विद्यालयबाट प्रदान गरिने शिक्षालाई गुणस्तरसँगै सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन नगरपालिकाले अतिरिक्त कक्षा सञ्चालनको कार्यक्रम ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्लले बताए ।
कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गरेको उनको भनाइ छ ।
अतिरिक्त कक्षाका लागि नगरपालिकाले ५७ वटै सामुदायिक विद्यालयमा ५० हजारको दरले बजेट उपलब्ध गराउने जनाएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले विद्यालयको भौतिक पक्ष भन्दा पनि शैक्षिक गतिविधि र क्रियाकलापकालागि प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएको नगर प्रमुख रमेश कार्कीले बताए ।
नगरपालिकाले सुरु गरेको अतिरिक्त कक्षा सिकाई अवस्था कमजोर रहेका विद्यार्थीहरूलाई उपचारात्मक शिक्षण हुने उनले बताए ।
सामुदायिक विद्यालयमा छड्के अनुगमन
नगरपालिकाले आइतबारबाट यहाँका सामुदायिक विद्यालयहरूको छड्के अनुगमनसमेत सुरु गरेको छ । उपप्रमुख नन्दकुमारी सुनुवारको संयोजकत्वमा अनुगमन टोलीले मङ्गलवार वडा नं. १ मा रहेको विद्यालयको शैक्षिक क्रियाकलाप, शिक्षण विधि, विद्यार्थीहरूको सिकाई क्षमता लगाएको निरीक्षण गरेका थिए ।
अनुगमनमा उपप्रमुख सुनुवार, प्रशासकीय अधिकृत मल्लसहित शिक्षा अधिकृत उत्तम भारती, शिक्षा समिति सदस्य आदर्श माविका पूर्व प्रधानाध्यापक ज्ञानबहादुर पाण्डेलगायतको सहभागिता रहेको थियो ।
Discussion about this post