पाँचथर : डाँगीहाट फुटबल क्लब मोरङले बिर्तामोड युनाइटेड झापालाई पराजित गर्दै प्रथम किराँत गोल्डकपको उपाधि हात पारेको छ ।
शनिवार भएको फाइनल खेलमा मोरङ २_१ ले विजयी भयो । उपाधिसँगै मोरङले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ हात पार्यो । उपविजेता बिर्तामोडले भने २ लाख २ हजार २ सय २२ रुपैयाँमा चित्त बुझायो ।
शनिवार फिदिम माविको मैदानमा सञ्जय धिमालले दसौँ मिनेटमा मोरङलाई अग्रता दिलाएका थिए । झापाको कमजोर रक्षपङतिको फाइदा उठाउँदै धिमालले गोल गरेका थिए ।
पहिलो हाफको अतिरिक्त समयमा मोरङका उमेश राईले गोल गर्दै अग्रता दोब्बर पारे । झापाको दुई जना डिफेन्डरलाई छल्दै राईले सुन्दर गोल गरेका थिए ।
यहि गोल नै डाँगी हाटको लागी उपाधि जिताऊ पर्याप्त भयो । पहिलो हाफको ३५ औँ मिनेटमा झापाका प्रदीप बुढाथोकीको प्रहार पोस्टमा लागेर फर्किदा झापाले बराबरी गोल गर्ने अवसर गुमाएको थियो ।
दोस्रो हाफको २७ औँ मिनेट झापाका विशाल दर्जीको हेड बल पुनः पोस्टमा लागेर रिबाउन्ड भएको थियो । दोस्रो हाफको इन्जुरी समयमा बिर्तामोडका योगेश गुरुङले गोल गरे पनि जितको लागी पर्याप्त भएन ।
पहिलो र दोस्रो हाफमा दुवै टोलीले गोलका राम्रा अवसर गुमाएका थिए । कडा मैदानमा खेलाडीहरूले खुलेर खेल्न सकेका थिएनन् ।
फाइनल खेलमा झापाका प्रदीप बुढाथोकी म्यान अफ द म्याच हुँदै पाँच हजार रुपैयाँ प्राप्त गरे । मैदान कडा भएको कारण खेलाडी खुलेर खेल्न नसक्दा आफ्नो टिम पराजित हुन परेको बिर्तामोडका प्रशिक्षक राहुल खड्काले बताए ।
यता मोरङका प्रशिक्षक राज लिम्बुले टिमको रणनीति सफल हुँदा उपाधि जित्न सफल भएको बताए ।
प्रतियागयतामा ३ गोल गरेका मोरङका सञ्जय धिमाल उच्च गोलकर्ता हुँदै १५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मोरङका प्रमिजय गच्छेदार, उत्कृष्ट डिफेन्डर मोरङका मानबाहादुर परियार ,उत्कृष्ट मिडफिल्डर मोरङका उमेश कार्की, उत्कृष्ट प्रशिक्षक मोरङका राज लिम्बु बने ।
उत्कृष्ट सबैले समान दश हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट प्रतियोगिताको उदीयमान खेलाडी पाँचथर फुटबल क्लबका शुकराज राई चुनिए ।
राई दश हजार रुपैयाँ प्राप्त गरे । डाँगी हाट फुटबल क्लबका अभिषेक लिम्बु सर्वोत्कृष्ट खेलाडी घोषित भए । लिम्बुले नगद २५ हजार प्राप्त गरे ।
Discussion about this post