विराटनगर : लगानीयोग्य पुँजी थुप्रिन थालेपछि वाणिज्य बैङ्कहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन् । पुसमा बैङ्कहरूको ब्याजदर मङ्सिर महिनाको तुलनामा घटेको छ । पुस महिनाका लागि २० मध्ये १८ वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएका हुन् । सबैभन्दा बढी हिमालयन बैङ्कले घटाएको छ ।
हिमालयन बैङ्कले पुसमा ब्याजदर २ प्रतिशत बिन्दु घटाएर ८ दशमलव ६०३ प्रतिशत कायम गरेको छ । त्यसै गरी, एभरेस्ट बैङ्क, ग्लोबल आईएमई बैङ्क, लक्ष्मी सनराइज बैङ्क, माछापुच्छ्रे बैङ्क र नेपाल एसबीआई बैङ्कले १ प्रतिशत बिन्दु ब्याजदर घटाएका छन् । प्रभु बैङ्क र सानिमा बैङ्कले भने मङ्सिर महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । यी दुवैको अधिकतम ब्याजदर ९ प्रतिशत रहेको छ ।
व्यक्तिगत मुद्दतीतर्फ एनआईसी एसियाले ब्याजदर घटाएर ८ दशमलव ६७ प्रतिशत पुर्याएको छ । एनएमबिको ब्याजदर ९ प्रतिशत, नबिल बैङ्कको ब्याजदर ८ दशमलव ६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कको ८ दशमलव ६१ प्रतिशत र नेपाल इनभेष्टमेन्ट मेगा बैङ्कको ९ दशमलव ५ प्रतिशत कायम भएको छ ।
त्यस्तै, ग्लोबल आईएमईको ब्याजदर ८ दशमलव ६ प्रतिशत पुगेको छ भने हिमालयन बैङ्कको ब्याजदर ८ दशमलव ६०३ प्रतिशत कायम भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको ब्याजदर ८ दशमलव ५६ प्रतिशत, कृषि विकास बैङ्कको ब्याजदर ९ दशमलव ०१२ प्रतिशत, एभरेस्टको ८ प्रतिशत, नेपाल एसबीआई बैङ्कको ९ दशमलव ६ प्रतिशत, सिटिजन्सको ९ दशमलव ३५ प्रतिशत, कुमारीको ९ दशमलव ३१ प्रतिशत र लक्ष्मी सनराइजको ९ प्रतिशत कायम भएको छ ।
त्यस्तै, सिद्धार्थ बैङ्कको ब्याजदर ९ दशमलव २५ प्रतिशत, प्राइमको १० प्रतिशत र माछापुच्छ्रे बैङ्कको ब्याजदर ९ दशमलव ६ प्रतिशत कायम भएको छ ।
Discussion about this post