इटहरी / सुनसरीको इटहरीमा आजबाट सिटी सफारीहरूका लागि टाइम कार्ड सुरु गरिएको छ । बढदो सहरीकरण सँगै इटहरी उपमहानगरपालिकामा जथाभाबी रूपमा सिटी सफारीहरू कुदाउने गरेका कारण दुर्घटनाको जोखिम बढको भन्दै उपमहानगरपालिकाले टाइम कार्ड सुरु गरेको हो ।
टाइम कार्ड लागु गरिएपछि इटहरी उपमहानगरपालिका बाहेकका अन्य स्थानीय तहमा दर्ता भएका सफारीहरूले यात्रुहरू लिएर इटहरीमा आउँदा एक घण्टाको समय पाउनेछन् । टाइम कार्डको ब्यावस्थापनका लागि इटहरीको बुढिखोलामा नगर प्रहरी,ट्राफिक प्रहरी साथै कर्मचारीको संयुक्त टोली परिचालन गरिएको इ रिक्सा व्यवस्थापन समिति इटहरीका सदस्य सचिव गणेश भटराईले बताए ।
इटहरीमा सिटी सफारीका बारेमा धेरै जनगुनासो आएपश्चात् व्यवस्थापन गर्ने उद्देश्यले टाइम कार्ड लागु गरिएको सदस्य सचिव भटराइको भनाइ छ । उनले टाइम कार्डको उंलघन गरे पहिलो पटक ५ सय जरिवाना गरिने उनले बताए । पटक पटक टाइम कार्डको उलङ्घन गरेको पाइए प्रत्येक पटक १ हजारका दरले कार्वाहि गर्ने नियम बनाएको जनाइएको छ ।
इटहरीमा अहिले झन्डै ९ हजारको हाराहारीमा सफारी सञ्चालन हुँदै आए पनि अहिले सम्म ५ सय ४४ ओटा सिटी सफारी दर्ता भएका छन् भने १ हजार ३ सय १७ ओटा सफारीहरू दर्ता प्रक्रियामा रहेका छन् । बिना दर्ताका सफारीहरू जथाभाबी रूपमा इटहरीमा सञ्चालनमा आइरहँदा दुर्घटनाको जोखिम बढ्दै गइरहेको छ ।
दुर्घटना भएर इलाका प्रहरी कार्यालय इटहरीमा मात्रै प्रत्येक महिना दर्जनौँ सफारीहरू आउने गरेका छन् ।
दुर्घटना भएका अधिकांश सफारी सञ्चालकहरूको कागजातहरू फेला नपर्ने गरेका कारण समस्या परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सफारी दर्ता हुन १५ दिने अल्टिमेटम
सिटी सफारीलाई दर्ता हुनका लागि उपमहानगरले १५ दिने अल्टिमेटम दिएको छ । पुस १ गतेबाट लागु हुने गरी १५ दिन भित्र सिटी सफारीलाई दर्ता हुनका लागि अल्टिमेटम दिइएको इ रिक्सा व्यवस्थापन समितिले जनाएको छ । मुख्य राजमार्गमा सिटी सफारी कुदाउन नपाउने,मुख्य चोकको ३ सय मिटर आसपासमा सफारी रोक्न नपाउने,सर्भिस लेनमा मात्र कुदाउन पाउने यातायात ब्यावस्था ऐन नियमावलीमा ब्यावस्था छ । उपमहानगरले अल्टिमेटम दिएसँगै अब इटहरीमा दर्ता भएका सिटी सफारीहरू मात्र इटहरीमा कुदन पाउनेछन् । बाकी पालिकाहरूमा दर्ता भएकाहरूका लागि भने टाइम कार्डको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।
Discussion about this post