इलाम / सन्दकपुर गाउँपालिकामा गरेको कामको रकम भुक्तानी नभएको भन्दै व्यवसायी कृत सुब्बाले उजुरी गरेका छन् ।
आफूले गरेको काम बापतको रकम भुक्तानी नभएको भन्दै सन्दकपुर गाउँपालिकाको न्यायिक समितिका उजुरी समेत दिएका हुन् ।
०७६ सालमा काम गरेको भए पनि सबै रकम भुक्तानी नभएको भन्दै व्यवसायी सुब्बाले रकम प्राप्तिको माग सहित उजुरी गरेका हुन् ।
तत्कालीन गाउँपालिका अध्यक्ष उदयबहादुर राई र व्यवसायी सुब्बा बिच सहमति भएर गाउँपालिका भित्र मेसिन (ब्याकुलोडर) लगाउन सुरु गरिएको थियो ।
गाउँपालिकाका सबै वडामा काम गरेर भुक्तानी भए पनि दुई नम्बर वडामा गरेको कामको भुक्तानी नभएको व्यवसायी सुब्बाको भनाई छ । व्यवसायी सहित छलफल पछि आफू र व्यवसायी सुब्बाबिच सहमति भइसकेको तत्कालीन वडाध्यक्ष गिरिराज खनालले बताए ।
पानी उपभोग गरे बापतको रकम इलाम नगरपालिकाबाट आएपछि दिने सहमति भएको तत्कालीन वडाध्यक्ष खनालको भनाई छ । र सो रकम भुक्तानी भइसकेको उनले बताए ।
कुरा बुझाबुझ मात्र नभएको खनालको भनाई छ । खनालले सहमति भएको भने पनि कुनै सहमति तथा भेटघाट नभएको व्यवसायी सुब्बाले बताए ।
यता तत्कालीन गाउँपालिका अध्यक्ष उदयबहादुर राईले आफू विरुद्ध भन्दा पनि तत्कालीन दुई नम्बर वडाका वडाध्यक्ष विरुद्ध उजुरी परेको बताए । तत्कालीन गापा अध्यक्ष राईले यस अघि नै व्यवसायी सुब्बाले भुक्तानी पाइसकेको दाबी गरे । उनले गाउँपालिकाबाट भुक्तानी भइसकेको बताए पनि सम्वन्धित ब्यवसायीले रकम नपाएको गुनासो गरेका छन् ।
सो वडामा गरेको कामको चार लाख १९ हजार रकम भुक्तानी हुन बाँकी रहेको व्यवसायी सुब्बाको भनाई छ । सुब्बाले गाउँपालिकाकाको न्यायिक समितिमा उजुरी दिए पछि तत्कालीन वडाध्यक्ष गिरिराज खनाललाई राखेर सोधिएको न्यायिक समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष हरिबहादुर लुंगेलीले बताए ।
छलफल भएको र साक्षीलाई समेत सोधिने उपाध्यक्ष तथा न्यायिक समिति संयोजक लुंगेलीको भनाई छ । उनले प्रक्रियामा नै रहेकाले समस्या समाधान गर्ने समेत बताए ।
तत्कालीन गाउँपालिका अध्यक्ष राई, वडाध्यक्ष खनाल र व्यवसायी सुब्बालाई गाउँपालिकामा बोलाएर छलफल गराइने न्यायिक समिति संयोजक लुंगेलीको भनाई छ ।
Discussion about this post