सुनसरी/ इटहरी २० तरहरामा १० किलोमिटर दौड प्रतियोगिताको तयारी सुरु गरिएको छ । तरहरा रनले पहिलोपटक १० किलोमिटर दौड प्रतियोगिताको आयोजना गर्न लागेको हो । आयोजनाबारे बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।
प्रतियोगिता सात विधामा आयोजना हुन लागेको हो । तरहरा रनका अध्यक्ष शिव रुम्दाली राईका अनुसार विभिन्न सात विधामा प्रतियोगिता आयोजना गरिनेछ । १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई ३ किलोमिटर दूरीको दौडमा सहभागी गराइनेछ । जसको दर्ता शुल्क दुई सय ५० रुपैयाँ रहेको उनले बताए ।
यस्तै, १५ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई १० किलोमिटर दूरीको दौडमा सहभागी गराइनेछ । जसको दर्ता शुल्क तीन सय रहेको राईले बताए । यस्तै, १६ देखि ३९ वर्षसम्म र ४० देखि माथिका (भेट्रान) लाई पनि १० किलोमिटर दौडमै सहभागी गराइनेछ भने यसका लागि पनि तीन सय नै शुल्क तोकिएको छ ।
ह्वील चियरमार्फत पनि एक किलोमिटर दौड प्रतियोगिता गराइनेछ । जसको शुल्क नराखिएको राईले बताए । यस्तै, स–परिवार दौड प्रतियोगिता ३ किलोमिटरको रहनेछ । जसमा दुई सय शुल्क तोकिएको छ । त्यसैगरी तरहराबासी विभिन्न देशमा रहेकाहरू पनि १० किलोमिटर दौडमा आफ्नै ठाउँबाट सहभागी हुनसक्नेछन् । उनीहरूले पनि दर्ताबापत तीन सय रुपैयाँ तिर्नुपर्ने बताइएको छ ।
खेल क्षेत्रलाई चलायमान बनाउनका निम्ति पनि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको राईले बताए । आगामी फागुन २६ गते हुने प्रतियोगितामा सहभागी हुन फागुन १९ गतेसम्म रजिष्ट्रेशन गर्नुपर्ने आयोजकले जनाएको छ ।
२१ लाख खर्चको अनुमान गरिएको प्रतियोगितामा विभिन्न विधामा तीन लाख बढीको पुरस्कार प्रदान गरिने तरहरा रनका मूल संयोजक मीनकुमार खवासले बताए । उनले भने, ‘हामीले मुख्य बजार क्षेत्रमा भन्दापनि ग्रामीण क्षेत्रमा रनको आयोजना गर्नेछौँ । जसकारण गाउँठाउँको वास्तविक चित्र बुझिनेछ ।’
उनले गाउँलाई बुझाउन र खेल क्षेत्र चलायमान बनाउनका निम्ति पनि ‘रन’ आयोजना गर्न लागिएको बताए ।
Discussion about this post