काठमाडौँ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको मृत्यु भएको छ ।
परराष्ट्र मन्त्रालयले बुधवार प्रेस विज्ञप्ति जारी गरेर नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको बताएको हो ।
मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भएर निधन भएका नेपाली नागरिकको शव नेपाल पठाउन तथा घाइतेलगायतका पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरिएको पनि जनाएको छ ।
मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूतमार्फत रुसी सरकारलाई आग्रह गरेको छ ।
रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको सङ्ख्या, घाइते नेपालीको सङ्ख्या तथा उनीहरूको अवस्थाका बारेमा रुसी सरकारबाट आधिकारिक जानकारी गराउन अडान मन्त्रालयले राखेको छ ।
त्यस्तै युक्रेनमा बन्दी बनाइएका चार जना नेपालीको नामसमेत सरकारले सार्वजनिक गरेको छ। बन्दी बनाइनेमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पनेरु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बन्दी बनाइएका नेपालीहरूको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको मन्त्रालयले जानकारी दिएको छ।
अवैधरूपमा रुसी सेनामा पठाउने गिरोहलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।
Discussion about this post