विराटनगर । मोरङमा राजावादीहरुले एकीकृत राष्ट्रिय संघर्ष समिति बनाएका छन् । नेपाल विद्वत परिषद् र नेपाल सद्भावना मञ्चबीच एकीकृत संघर्ष समिति गठन गरिएको हो ।
विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरेर समिति घोषणा गर्दै राजसंस्था पुर्नस्थापनका लागि आन्दोलन चर्काउने तयारी भइरहेको जानकारी दिइयो ।
परिषद्का केन्द्रीय अध्यक्ष एवं पूर्वराज परिषद्का स्थायी समिति सदस्य जीतबहादुर अर्जेल र नेपाल सद्भावना मञ्चका राष्ट्रिय अध्यक्ष तथा पूर्वउपप्रधान एवं गृहमन्त्री बद्रीप्रसाद मण्डलबीचको छलफलपछि एकीकृत राष्ट्रिय संघर्ष समिति बनाइएको बताइन्छ ।
परिषद्का पूर्वकेन्द्रीय उपाध्यक्ष एवं पूर्वाञ्चल संयोजक बल्लभप्रसाद दाहाल समितिको अध्यक्षमा छन् । उनको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा दिनेश राउत, उपाध्यक्षमा रमा प्रसाईं, वरिष्ठ सचिवमा पुष्पराज दाहाल, सचिवमा पन्नालाल राजवंशी र सहसचिवमा सन्दीप घिमिरे रहेका छन् ।
त्यस्तै, नगेन्द्रकुमार माझी, नारायण लुइँटेल, महमुद अन्सारी, कपिल पोखरेल, रामाशिष कामत, मुन्नाला माझी, राजकुमार राजवंशी, लक्ष्मण राय अमात, नन्दलाल मुखिया, म. सैनुल मिया, गणेशकुमार मोदी, डा. श्रीकान्त साह, तेजनारायण राजवंशी, धीरेन कार्की, रामदयाल विश्वास, कालुराम माझी, अवु गुरुङ, अशोक मुखिया र सन्तोष पोखरेल सदस्य छन् ।
अध्यक्ष दाहालले समितिको अगुवाईमा राजसंस्था पुर्नस्थापना र गणतन्त्रविरुद्ध आन्दोलन चर्काइने जानकारी दिए । ‘अहिले नेपाल र नेपालीको अवस्था अत्यन्तै नाजुक छ । २००७ सालदेखिको प्रजातन्त्रको रटानले नेपाल र नेपालीको अस्तित्व समाप्त हुँदै गएको छ,’ उनले भने, ‘केवल नेता र उनीहरुले अँगालेका व्यक्ति तथा आफन्तको मात्रै उन्नती–प्रगति भएको छ । भ्रष्टाचार र मनपर्दी शासन व्यवस्थाका कारण मुलुकको अवस्था ओरालो लाग्दै छ ।’
अहिले देश नै नरहने र देशवासीहरु सबै रोजगारीका लागि मुलुक छाडेर जानुपर्ने अवस्था सिर्जना गरिएको दाबी दाहालको छ । अनेक राजनीतिक उलटफेर र परिवर्तनबाट गणतन्त्रसम्म आइपुग्दा देशै नरहने अवस्था आएको उनले बताए । भने, ‘देश जोगाउन अब गणतन्त्र फाल्नुपर्छ । राजसंस्था पर्नुस्थापना गर्नुपर्छ ।’
गणतन्त्रविरुद्ध विभिन्न समूहले आन्दोलन र संघर्ष गरिरहेको उल्लेख गर्दै दाहालले अभियन्ताहरुले राजसंस्था पुर्नस्थापनाको नारा चर्काएर लगेको बताए । छुट्टा–छुट्टै हिसाबले विरोध गर्दा सफलता सम्भव नदेखिएकाले सबै शक्ति एकीकृत भएर राजसंस्था पुर्नस्थापनका लागि निर्णायक जनविद्रोह गर्न आवश्यक रहेको उनको भनाइ छ । देशलाई जोगाउन राजसंस्था पुर्नस्थापनको विकल्प नभएको दाबी दाहालले गरे ।
राजसंस्था पुर्नस्थापनका लागि विगतदेखि नै नेपाल विद्वत परिषद्ले बोकेको सैद्धान्तिक र वैचारिक जनआन्दोलनलाई एकीकृतका माध्यमबाट अघि बढाउन आफूहरु सक्रिय रहेको उनको भनाइ छ ।
राजसंस्था पुर्नस्थापनका लागि गणतन्त्रविरुद्ध संघर्षरत व्यवसायी, संघ–संस्था, पार्टी सबैलाई एकीकृत गरी देशव्यापी आन्दोलन चर्काउने तयारी भइरहेको दाहालले बताए ।
Discussion about this post