इटहरी / इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने भएको छ । बुधवार बसेको इटहरी उपमहानगरपालिकाको १३६ औँ कार्यपालिका बैठकले कर समायोजन गर्ने निर्णय गरेको हो ।
कार्यपालिका सदस्य तथा वडाध्यक्ष उमेश सुवेदीको नेतृत्वमा बनेको कर समायोजन समितिले दिएको प्रतिवेदनअनुसार करको दर समायोजन गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले घोषणा गरेका छन् ।
उनले सम्पत्ति कर, लिखत पाससम्बन्धी व्यवस्था, निजी विद्यालयसम्बन्धी कर, वैदेशिक रोजगारीसम्बन्धी कर र साना तथा मझौला व्यवसायीहरूले तिर्नुपर्ने करहरू नगर सभाबाट घटाउने बताए । कार्यपालिका बैठकले पुस २३ गतेको लागि नगर सभाको मितिसमेत तोकेको छ ।
कार्यपालिका बैठकमा सहभागी सदस्यहरूले तत्काल कार्यान्वयनमा लगेर नगर सभाबाट अनुमोदन गर्न जोड गरेका थिए । ‘जनतालाई पर्खाएर आजको दिनमा आएका छौँ, करको प्रतिवेदनलाई निर्माणार्थ प्रस्तुत गरौँ, तत्काल कार्यान्वयनमा लगौँ, नगर सभाबाट पछि अनुमोदन गरौँ,’ सुवेदीले भने ।
मेयर पौडेलले भने लिखत पाससम्बन्धी व्यवस्था र वैदेशिक रोजगारीसम्बन्धी करहरूबारे निर्णय गरेर एकै पटक नगर सभाबाट पास भएपछि मात्र घटेको कर लागु गर्ने बताए । यस्तै यसअघि नगर सभामा प्रतिनिधित्व गर्ने एमालेका ४३ जना सदस्यले हस्ताक्षर गरेर आह्वान गरेको विशेष अधिवेशनको माग फिर्ता लिएको घोषणा गरिएको छ ।
सम्पत्ति कर समायोजनका लागि भन्दै विशेष अधिवेशन माग गरिएको थियो । कर समायोजन गर्ने निर्णय कार्यपालिकाबाट भएसँगै विशेष अधिवेशनको औचित्य सकिएकोले फिर्ता लिएको कार्यपालिका सदस्य सुवेदीले बताए । माग फिर्ता लिएपछि मेयर पौडेलले धन्यवाद दिएका थिए ।
कर समायोजनको निर्णय पुस २३ गते हुने भएपछि पुस मसान्तसम्ममा इटहरी उपमहानगरपालिकाको कर सङ्कलन स्थिति निराशाजनक रहने भएको छ । इटहरीका अधिकांश करदाताहरू कर घट्ने आसमा कर नतिरी बसेका छन् ।
यसअघि इटहरी उपमहानगरपालिकाले पुस मसान्तसम्ममा कर तिर्ने करदातालाई कर छुट दिँदै आएको थियो । छुटको लोभमा पनि धेरैले पुस मसान्तमा कर तिर्ने गरेका थिए । तर यो पटक निर्णय नै ढिलो हुने हुँदा पुस मसान्तसम्म कर छुट दिने प्रावधानलाई यो पटक माघसम्म सार्न कार्यपालिका सदस्य तथा वडा नं. ९ का अध्यक्ष जितेन थापाले माग गरेका थिए ।
मेयर पौडेलले ऐनमा भएको उक्त व्यवस्थालाई नगर सभाबाटै परिवर्तन गर्न सकिने बताउँदै अर्को कार्यपालिका बैठकमा छलफल गर्ने बताए ।
यसअघि इटहरी उपमहानगरपालिकाले पुस मसान्तसम्ममा कर तिर्ने करदातालाई कर छुट दिँदै आएको थियो । छुटको लोभमा पनि धेरैले पुस मसान्तमा कर तिर्ने गरेका थिए । तर यो पटक निर्णय नै ढिलो हुने हुँदा पुस मसान्तसम्म कर छुट दिने प्रावधानलाई यो पटक माघसम्म सार्न कार्यपालिका सदस्य तथा वडा नं. ९ का अध्यक्ष जितेन बस्नेतले माग गरेका थिए ।
Discussion about this post