विराटनगर । जिल्ला कारागार मोरङका थुनुवाको मृत्यु भएको दुई सातापछि बल्ल शवको पोस्टमार्टम भएको छ ।
विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरेर मोरङको लेटाङ नगरपालिका–४ घर भएका ३७ वर्षीय केशरबहादुर भुजेलको शव परिवारको जिम्मा लगाइएको हो । भुजेलको शव दुई सातादेखि अस्पतालकै शवगृहमा थियो । कारागारका निमित्त जेलर तुलसीप्रसाद पौडेलले पोस्टमार्टमपछि दाहसंस्कारका लागि परिवारलाई शव बुझाइएको जानकारी दिए ।
दाहसंस्कारस्थलसम्म शव पुर्याउन कारागारले सहयोग गरेको र परिवारका सदस्यले अन्त्येष्टिसमेत गरिसकेको उनको भनाइ छ । स्वास्थ्यमा समस्या भएपछि भुजेललाई गत मंसिर २१ गते दिउँसो उपचारका लागि कोशी अस्पताल ल्याइएको थियो । अस्पतालको आकस्मिक कक्षमा साँझ ५ बजेतिर उनको मृत्यु भएको पौडेलले बताए ।
भुजेलको मृत्यु रहस्यमय एवं शंकास्पद रहेको भन्दै परिवारका सदस्यले बुझ्न अस्वीकार गरेपछि शवलाई अस्पतालमै राखिएको थियो । परिवारका सदस्यले कारागारभित्र चौकीदारको समूहले दिएको चरम यातनाका कारण मृत्यु भएको भन्दै घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउन माग गरेका थिए ।
भुजेललाई कारागारभित्र कुटपिट गरेर मरणासन्न बनाएपछि उपचारका लागि अस्पताल ल्याइएको र मृत्यु भएको दाबी आफन्तको थियो । उनीहरुको दाबी अनुसार टाउकोमा कुटपिट गरेको चोट र रगत देखिएको थियो ।
मृतकका आफन्त र परिवारका सदस्यले दबाब दिएपछि स्थानीय प्रशासनले ४ सदस्यीय समिति गठन गरेर घटनाको छानबिन गरिरहेको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको संयोजकत्वमा गठित समितिमा कोशी अस्पतालका फिजिसियन डा. मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य छन् ।
समितिलाई भुजेल मृत्यु प्रकरणको छानबिन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ ।
समिति संयोजक साहका अनुसार मृतकको परिवारका सदस्य, मानव अधिकारकर्मी र जनप्रतिनिधिसमेतको रहोवरमा कारागार प्रशासन, सुरक्षाकर्मी, कैदीबन्दी, चिकित्सक सबैसँग लिखित बयान लिने काम सकिएको छ ।
भुजेलको ‘मेडिकल हिस्ट्री’लगायत घटनासँग सम्बन्धित विभिन्न पाटोको अध्ययन गर्ने काम भइरहेको उनले बताए । पोस्मार्टम रिपोर्ट प्राप्त भइसकेपछि छानबिन प्रतिवेदन बुझाइने जानकारी साहले दिए ।
कारागार प्रशासनले भने भुजेललाई पेट दुख्ने, सुख्खा खोकी लाग्ने र वान्ता हुने लगायतका स्वास्थ्य सम्बन्धी पुराना समस्या रहेको बताउँदै आएको छ ।
छानबिन समितिका अनुसार भुजेलले विगतदेखि नै विभिन्न रोगका औषधि सेवन गरिरहेको पाइएको छ । स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि लगिएको र भुजेलको मृत्यु भएको निमित्त जेलर पौडेलले बताए ।
उनका अनुसार मृत्यु हुनुअघि चिकित्सकले पेटको ‘इन्डोस्कोपी’का लागि सिफारिस गरेका थिए । तर, ‘इन्डोस्कोपी’ गर्न नपाउँदै मृत्यु भयो । त्यसको दुई दिनअघि पनि अस्पताल लगेर उपचार गरिएको पौडेलले बताए ।
अस्पतालले समेत स्वास्थ्य अवस्था जटिल रहेकाले थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान कारागार प्रशासनलाई भनेको थियो ।
मृतकका भाइ नारायण भुजेलले छानबिन समितिको आग्रहमा पोस्टमार्टम गरेपछि शव बुझेर अन्त्येष्टि गरिएको बताए । पोस्टमार्टम रिपोर्ट नआइकन घटनाको कुनै निष्कर्ष आउँदैन भन्दै छानबिन समितिले सत्यतथ्य पत्ता लगाउँछौं भनेर विश्वास दिलाएपछि आफूहरु शव बुझ्न बाध्य भएको उनको भनाइ छ ।
उनले घटनाको यथार्थ बाहिर आउनेमा आशावादी रहेको बताए । तर, घटनाको प्रकृति हेर्दा कारागारभित्र दिइएको चरम यातनाका कारण दाजुको मृत्यु भएको प्रष्ट हुने उनको भनाइ छ ।
जबरजस्ती करणी मुद्दाका थुनुवा भुजेल गत कात्तिक ६ गते पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । मुद्दाको किनारा नलाग्दै उनको मृत्यु भएको हो । कारागारभित्र यातना दिएर उनलाई मारिएको दाबी परिवारले गरेको छ ।
मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ । कारागारभित्र कैदीबन्दीलाई चौकीदारको समूहले कुटपिट गर्ने, चरम यातना दिने तथा असुली गर्ने गरेको घटना बारम्बार बाहिर आइरहेको छ ।
कारागारमा खानपिन गरेको हिसाब बन्डा १० दिन १, ११ र २१ गतेभित्र नमिलाए चौकीदार र उनको समूहको निर्देशनमा कैदीबन्दीलाई यातना दिने गरेको कैद भुक्तान गरेर छुटेका एक जनाले बताए ।
उनका अनुसार यातना तथा कुटपिटका कारण कतिपयको उपचारका लागि लैजाने क्रममा र कतिपयको कारागारभित्रै मृत्यु हुने गरेको छ ।
कारागारभित्र हुने अमानवीय घटना बारम्बार बाहिर आउने गरेपनि त्यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले चासो दिएको छैन । कारागारभित्र चौकीदारको समूहको हालिमुहाली चल्छ ।
मोरङ कारागारमा हाल ९१ महिला र ७ जना नाबालकसहित १ हजार ४९ जना कैदीबन्दी छन् ।
Discussion about this post