विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले नेपाल प्रहरी अपराध अनुसन्धानमा निक्कै अब्बल रहेको बताएका छन् ।
अपराध अनुसन्धानमा प्रहरी विश्वकै परिचित संगठन भएको उनको भनाइ छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा शुक्रबार आयोजित एकदिवसीय प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राईले नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल रहेको बताए ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आयोजित गोष्ठीको उद्घाटन मन्त्री राईले गरेका हुन् ।
उनले बेला–बेलामा आयोजना हुने समीक्षा गोष्ठीले प्रहरीको अनुसन्धानलाई थप सशक्त र प्रभावकारी बनाउन मद्धत पुग्ने बताए । ‘अपराध अनुसन्धानका सवालमा विश्वमै परिचित संगठन नेपाल प्रहरी समायोजन चाँडै भएर प्रहरी प्रदेश मातहत आउने विश्वास छ,’ मन्त्री राई भन्छन्, ‘एकआपसमा समन्वय गरी अनुसन्धान थप प्रभावकारी बनाउन प्रहरीलाई सहयोग गर्न प्रदेश सरकार तयार छ ।’
राईले अपराध अनुसन्धान, नियन्त्रण र सुरक्षाका सवालमा धेरै नबोल्ने र काम गरेर देखाउने पक्षमा प्रदेश सरकार रहेको उल्लेख गरे ।
समाजमा देखा परेका अपराधका नयाँ रूपले धेरै असजिला र अप्ठेराहरु आइपरे पनि प्रहरी अधिकारीको तदारुकताले अनुसन्धान अब्बल बनिरहेको भन्दै उनले प्रहरीको प्रशंसा गरे ।
अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षामा देखापर्ने चुनौतीलाई पार लगाउन नेपाल प्रहरी सक्षम रहेको उनको भनाइ छ ।
प्रहरीलाई भौतिक हिसाबबाट सुविधा सम्पन्न बनाउन प्रदेश सरकारको सहयोग रहने मन्त्री राईले बताए । निरन्तर अनुसन्धानमा खटिने प्रहरी अधिकारीलाई थप शक्ति र हौसला प्रदान गर्न आवश्यक रहेको उनको भनाइ छ ।
अपराध अनुसन्धानमा देखिएका समस्या र समाधानका उपायहरू पहिल्याउन गोष्ठीको आयोजना गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गोष्ठीले प्रदेशमा भएका अपराधको अवस्थासहित अनुसन्धानका सबल तथा दुर्बल पक्षको पहिचान गरेर छलफल एवं अन्तरक्रियाका माध्यमबाट समस्याको निराकरण गरी ठोस योजना बनाउन मद्धत पुग्ने एसएसपी जयराज सापकोटाले बताए ।
प्रभावकारी एवं वस्तुनिष्ठ अनुसन्धानले मात्र फौजदारी मुद्दामा सफलता हासिल गर्न सकिने उनको भनाइ छ ।
प्रहरीले सीमित स्रोत साधनका बाबजुत सबै पक्षसँग समन्वय गर्दै अपराध अनुसन्धानको क्षेत्रमा उल्लेखनीय काम गरिरहेको भन्दै एसएसपी सापकोटाले भने समाज र प्रविधिको द्रुत विकाससँगै अपराध अनुसन्धानमा नयाँ चुनौती देखा पर्न थालेको उल्लेख गरे ।
वैज्ञानिक र वस्तुनिष्ठ अनुसन्धानका लागि अनुसन्धानकर्ताको क्षमता वृद्धि गर्नुपर्ने उनको सुझाव छ ।
सरकारवादी फौजदारी मुद्दाको आधारशीला भनेकै अनुसन्धानबाट तयार पारिएका लिखत र दसी प्रमाणहरू रहने भन्दै सापकोटाले गोष्ठीबाट निस्किएको निचोडले आगामी दिनमा अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।
उनका अनुसार अशिक्षा, अभाव, बेरोजगारी, कुलत, कुसंस्कार तथा रुढीवाढी संस्कार, चिन्तन, अहमता र प्रतिशोधका कारण समाजमा अपराध बढिरहेका छन् ।
‘अपराध कम हुनुको साटो दिन प्रतिदिन नयाँ ढंगबाट बढिरहेको कुरा प्रहरीमा दर्ता भएको उजुरी र मुद्दाबाट पुष्टि हुन्छ,’ सापकोटा भन्छन्, ‘पीडितलाई न्याय र पीडकलाई सजाय गरी दण्डहीनताको अन्त्य गर्न अनुसन्धान प्रक्रियाको मुख्य भूमिका रहन्छ ।’ न्याय सम्पादन अनुसन्धानबाट तयार पारिएका लिखत, कागजात, प्रमाण र अभियोग दाबीमा आधारित हुने हुँदा सानो गल्तीले सामाजिक न्यायमा प्रतिकूल असर पर्नेतर्फ अनुसन्धानकर्ता सचेत हुनुपर्ने उनको भनाइ छ ।
‘मिसिल (अनुसन्धान प्रतिवेदन)को अंग पु¥याउन अनुसन्धान निष्पक्ष, शंकारहित, स्वतन्त्र र प्रमाणमुखी हुन आवश्यक छ,’ एसएसपी सापकोटोले भने, ‘पीडित र पीडकको सुरक्षामा ध्यान दिनु प्रहरीको दायित्व हो ।’ उनका अनुसार प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले प्रहरीको छवि उच्च बनाउन प्रहरी कार्यालयको सौन्दर्यकरण र अपराध अनुसन्धानलाई विशेष प्राथमिकतामा राखेका छन् ।
प्रदेशमा अहिले पीडित पुनः भेटघाट कार्यक्रम, क्यूआर कोडको प्रयोग, आत्महत्या न्यूनीकरण, लागूऔषधविरुद्धको अभियान तथा पुराना मुद्दा फर्छोट एवं अध्ययन, फरार प्रतिवादी पक्राउ, जनचेतनामूलक सुरक्षा सुनिश्चितता अभियान, भन्सार चोरी–निकासी नियन्त्रण, अपराध अनुसन्धान ‘रिफ्रेसमेन्ट’ तालिम, हिरासतमा पुस्तकालयको व्यवस्था, अपराधको प्राविधिक विश्लेषण एवं अपराध नियन्त्रणका लागि विभिन्न सुरक्षा निकायसँग समन्वय एवं छलफल गर्ने लगायतका कामहरु भइरहेको छ ।
सापकोटाले गोष्ठीमा अपराध नियन्त्रण र चुनौती, अनुसन्धानको विश्लेषण, शान्ति सुरक्षाको अवस्था, मजवुत सुरक्षाका लागि निर्वाह गर्नुपर्ने भूमिका, आगामी कार्ययोजना, अनुसन्धान पद्धति र उपलब्धि, अनुसन्धानमा देखापर्ने समस्यालगायतका विषयमा छलफल हुने बताए ।
उनका अनुसार अनुसन्धान अधिकारीहरुले अपराध अनुसन्धानसँग सम्बन्धित जिल्लागत विवरण एवं वस्तुस्थितिका बारेमा जानकारी गराउने छन् ।
गोष्ठीमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रामेशप्रसाद राजभण्डारी, नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङ, मन्त्रालयका सचिव, सरकारी वकिल, एसएसपीहरु लगायत प्रदेशका १४ वटै जिल्लाका प्रहरी अधिकारी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।
Discussion about this post