बिराटनगर /नेपाल उद्योग परिसंघ कोसी प्रदेशले राष्ट्रपति रामचन्द्र पौडेललाई अभिनन्दन गरेको छ ।
शनिबार विराटनगरमा परिसंघले उद्योगी ब्यवसायीको भेलाका क्रममा राष्ट्रपति पौडेललाई अभिनन्दन गरेको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक विकासको रेखा कोर्न सकिने बताए।
भेलामा आर्थिक विकासका लागि नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानूनको समीक्षा गरि नयाँ नीति, ऐन निर्माण गर्ने नीजि क्षेत्र मैत्री ऐन कानुन परिमार्जन गर्ने काम सरकारले गर्न जरुरी भएको बताए ।
गाऊँघरमा सम्मानजनक रोजगारी र आम्दानीको सृजना नहुँदा जनशक्ति विदेशिएर अवस्थालाई मध्यनजर गर्दै राष्ट्रपति पौडेलले कृषि, वन र खनिजमा आधारित उद्योगहरूको व्यापक विस्तार गर्नु पर्नेमा जोड दिए ।
उनले मुलुकमा विदेशी ठूला कम्पनीसंग सहकार्य गर्दै स्वदेशभित्र जनशक्ति उत्पादन गर्दै रोजगारीको समस्या समाधान गर्नुपर्ने बताए ।
कोसी प्रदेशमा धार्मिक पर्यटनमा समेत प्रचुर संभावना रहेको बताउँदै उनले हलेसी महादेव, ट्याम्केको सिद्धबाबा, ताप्लेजुंगस्थित पाथीभरा माता, छिन्ताङ् देवी, बराहक्षेत्र, लोभरकटी किराँत मन्दीरलाई आकर्षक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरि राष्ट्रिय अर्थतन्त्रमा योगदान पुराउन सकिने प्रस्टाए ।
मुलुकमा गरिवी निवारणका लागि सरकारको एकलप्रयाससंगै नीजि क्षेत्रको साझेदारी महत्वपूर्ण रहेको बताए ।
उनले भने, ‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरिबी निवारण गरी आर्थिक विकास गर्न सरकार एक्लैले सक्ने स्थिति छैन ।
त्यसैले निजी क्षेत्रसँग सरकारले साझेदारी गरेमा मात्र यो सम्भव छ । सार्वजनिक निजी साझेदारीलाई थप व्यापक र प्रभावकारी बनाउन आवश्यक छ ।’
कार्यक्रममा उद्योग परिसंघ कोसी प्रदेशको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको थियो । परिसंघको अध्यक्षमा उद्योगी पवन सारडा रहेकाछन्।
परिसंघका प्रवक्ता रमेश राठीका अनुसार कार्यक्रममा २१ जना प्रजातन्त्र सेनानी, उद्योगी विनोद चौधरी, देवकिशन मुन्दडा, विपीन काबरा र बासुदेव गोल्यानलाई सम्मान गरेको छ । त्यसैगरि, पत्रकार अनन्तराज न्यौपाने र शंकर खरेललाई समेत सम्मान गरेको छ ।
Discussion about this post