पाँचथर / फिदिममा आयोजित छैटौँ सुम्हात्लुङ मिनी म्याराथनको उपाधि नेपाल आर्मीमा कार्यरत धावक श्रीकास राईले जितेका छन् । निर्धारित साढे नौ किलोमिटरको दूरी २७ मिनेट ५६ सेकेन्डमा पार गर्दै उपाधिमाथि उनले कब्जा जमाएका हुन् ।
प्रतियोगितामा सशस्त्र प्रहरी बलका नीरज भट्ट र राजेन्द्र तामाङले दोस्रो र तेस्रो स्थान सुरक्षित गरे । दोस्रो स्थान प्राप्त गरेका भट्टले २८ मिनेट ३ सेकेन्ड र तेस्रो स्थानमा रहेका तामाङले २८ मिनेट १४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए ।
यसै गरी, महिलातर्फको प्रतियोगितामा जुलिन राई पहिलो, भोजपुरकी जुही राई दोस्रो र विनीता राई तेस्रो बन्न भए । सुम्हात्लुङ गडी मन्दिरबाट सुरु भएको दौड, पाँचथर बहुमुखी क्याम्पस, आहाल गैरी, जोर साल, पल्लो टार, शनिबारे र जिल्ला प्रहरी कार्यालय हुँदै सुम्हात्लुङ मन्दिरमै पुगेर टुङ्गिएको थियो ।
पुरुषतर्फको उपाधि विजेताले नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजारसहित ट्रली मेडल र प्रमाणपत्र हात पारे । महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार प्राप्त गरे ।
पुरस्कृत धावकहरुलाई प्रमुख अतिथिको आसनबाट फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले पुरस्कार, पदक र प्रमाणपत्र वितरण गरे ।
Discussion about this post