विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा बालबालिकासित अन्तरक्रिया सम्पन्न भएको छ । बालबालिकाका समस्या बुझ्ने र तत्कालै समाधान गर्ने उद्देश्यका साथ महानगरले विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूसित अन्तरक्रिया गरेको हो ।
महानगरले आज विराटनगर–१९ को सार्वजनिक मावि र युमी स्कुलका विद्यार्थीसित अन्तरक्रिया गरेको छ । महानगरको महिला बालबालिका तथा समाज कल्याण शाखाले बाल क्लबको सहभागिता र क्रियाशीलतामा मेयर र उपमेयरसँग बालबालिका अन्तरक्रिया सञ्चालन गर्दै आएको छ ।
अन्तरक्रियामा विद्यार्थीहरूले बालबालिकाका क्षेत्रमा महानगरले के गरिरहेको छ ? सामाजिक सञ्जाल र लागू औषधको प्रयोगबाट बालबालिकालाई कसरी जोगाउने, विराटनगर बालमैत्री नगर कहिले हुन्छ लगायत विभिन्न जिज्ञासा राखेका थिए ।
बालबालिकाहरूले राखेका जिज्ञासाको जवाफ दिँदै मेयर नागेश कोइरालाले बालबालिकाका हरेक समस्या समाधान गर्न महानगरपालिका गम्भीर रहेको बताए । उनले बालबालिका भविष्यका कर्णधार भएको बताउँदै सामाजिक सञ्जालको प्रयोग नगर्न र अध्ययन र अतिरिक्त क्रियाकलापमा ध्यान दिन आग्रह गरे ।
नगर बाल क्लब सञ्जालका अध्यक्ष आदित्य झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडाध्यक्षसमेत लगायत सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतलगायतले सकारात्मक सोच र उद्देश्य लिएर अगाडि बढ्न सुझाव दिएका थिए ।
यसअघि महानगरले पूर्वाञ्चल बाल आश्रमका बालबालिकासित अन्तरक्रिया गरेको थियो ।
Discussion about this post