इलाम पुस / इलामको छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औँ वार्षिक साधारण सभाका अवसरमा करिब सय जनालाई सम्मान गरेको छ । संस्थाले ५० हजार भन्दा बढी शेयर रकम उपलब्ध गराउने ७७ जना सदस्यहरूलाई सोमबार सम्मान गरेको हो । प्रतिनिधि सभा सदस्य महेश बस्नेत र इलाम नगरपालिका उपप्रमुख विष्णु दाहालले दोसल्ला ओढाएर सदस्यहरूको सम्मान गरेका हुन् ।
यस्तै संस्थाले सोही कार्यक्रममा असल ऋणी, उत्कृष्ट व्यवसायी, दैनिक र मासिक रूपमा बचत गर्ने नियमित बचतकर्तालाई समेत सम्मान गरेको छ ।
शिक्षा क्षेत्रमा योगदान पुर्याउने शेयर सदस्यहरू समेत सम्मानित भएका थिए ।
अपाङ्गता भएका, ज्येष्ठ र एकल महिला शेयर सदस्यहरूलाई पनि नगद सहित सम्मान गरिएको थियो । बाल बचतमा उत्कृष्ट बचतकर्ता र एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने बाल बचतकर्तालाई पनि पुरस्कृत गरिएको थियो ।
सभामा अध्यक्ष देवेन्द्र बरालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाले वार्षिक रूपमा ६ करोड बढी कारोबार गरेको र तीन करोड बढी कर्जा लगानी गरेको जानकारी दिए ।
संस्थाले यसै वर्ष कार्यालय भवन खरिद गरेको हो ।
सभामा सांसद बस्नेतले सहकारीको आन्दोलनलाई अगाडि बढाउन नियमन आवश्यक रहेको बताए । एनजिओ र उद्योग जस्तो गरेर सहकारी नचल्ने उनले बताए ।
इलाम नगरपालिकाकी उपमेयर विष्णु दाहालले सहकारीले उद्योग व्यवसायमा महिलाहरुलाई सक्षम बनाउनुपर्ने बताइन् ।
अध्यक्ष देवेन्द्र बरालको अध्यक्षतामा भएको सभामा अनिरुद्र मैनाली, विकास कर्माचार्य, मेनुका शिवाकोटी, सुरेन्द्र चौहान लगायतका वक्ताले सहकारीको अवधारणा बारे प्रकाश पारेका थिए ।
Discussion about this post