तरहरा / तरहरा जेसीज समुदायमा पुग्न थालेको छ । जेसीज सदस्यलाई मात्रै प्रशिक्षण दिँदै आएको तरहरा जेसीजले पहिलो पटक समुदायका मानिसहरूलाई उद्घोषण तालिमको आयोजना गरेको छ ।
इटहरी २० तरहरास्थित राष्ट्रिय जनसहयोग कलेजको सभा हलमा मङ्गलवार उद्घोषण तालिमको आयोजना गरिएको हो । तालिमलाई नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष दीपेन्द्र निरौलाले सहजीकरण गरे ।
उनले झन्डै चार घण्टासम्म उद्घोषण गर्नका निम्ति गर्नुपर्ने कार्यबारे सहजीकरण गरे । उद्घोषण गर्दा अपनाउनुपर्ने नियम, गर्नुपर्ने कार्य, प्रस्तुति, शैली र हाउभाउबारे प्रस्ट्याए ।
तरहरा जेसीज वर्ष २०२३ मा अध्यक्ष बहादुर तामाङले १२ महिना, १२ तालिम गर्ने उद्घोष गरेका थिए । सोहीअनुरूप १२ औँ तालिम समुदायलाई केन्द्रित गरिएको तामाङले बताए ।
उनकाअनुसार यहाँका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसहित करिब ५० जना तालिममा सहभागी थिए । सहभागीहरूले उक्त तालिमबाट लाभ लिएको उनले बताए ।
कार्यक्रम निर्देशक तथा कार्यकारिणी उपाध्यक्ष विवेक विवश रेग्मीले एक वर्षको अवधिमा जेसीजका सदस्यलाई विभिन्न तालिम प्रदान गरी दक्ष बनाउने प्रयत्न गरिएको बताए ।
उनका अनुसार १२ औँ तालिमले समुदायमा जेसीजलाई हेर्ने दृष्टिकोण अझ सकारात्मक बन्दै गएकाले जेसीजप्रतिको आकर्षण बढेको विश्वास व्यक्त गरे ।
तालिम संयोजक तथा उपाध्यक्ष मदन बस्नेतले मन्तव्य राख्दै यस वर्षको अन्तिम तालिममा सहभागीहरूलाई धन्यवाद प्रकट गरे । उनले समुदायसँग पनि जेसीज जोडिनुपर्छ भन्ने उद्देश्यले उक्त तालिम समुदायमा पुगेर गरेको बताए ।
कार्यक्रममा तरहरा जेसीजका पूर्व अध्यक्ष मेदन घिमिरे, पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष रामकुमार गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Discussion about this post