निशा राई
धरान ः धरान उपमहानगरपालिमा नगर स्तरीय शारीरिक सुगठन प्रतियोगिता आगामी फागुन १९ गतेबाट हुने भएको छ ।
बुधवार पत्रकार सम्मेलन गर्दै भिजन फिटनेसको आयोजनामा धरान ८ स्थित सभागृहमा प्रतियोगिता हुने भएको भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठले बताएको छ ।
उनका अनुसार फागुन १८ मा प्री–जजिङ र दोस्रो दिन फाइनल चरणका खेलहरू हुने बताए ।
प्रतियोगितामा ४ वटा वजन समूह खुल्ला गरिएको र खेलाडीहरूको टिम म्यानेजर आफैले व्यवस्थापन गर्नुपर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौल समूहमा प्रतिस्पर्धा हुने बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार यो प्रतियोगितामा नयाँ खेलाडीहरूलाई प्रोत्साहन गर्नको लागी विगतमा कुनै पनि प्रतियोगितामा टाइटल नजितेका खेलाडीहरूले भाग लिन पाउने व्यवस्था गरिएको बताए ।
भिजन फिटनेसले पहिलो पटक २०६८ सालमा मिस्टर धरान आयोजना गरेको थियो ।
धरान नगर स्तरीय प्रतियोगिताको रूपमा आयोजना हुने भएकोले धरानका फिटनेस एव जिम हलबाट करिब ३० जना खेलाडीहरू सहभागी हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
ओभरअल राउन्डको विजेताले नगद ५० हजार, दोस्रो हुने खेलाडीले २५ हजार, तेस्रो हुनेले १५ हजार र चौथो हुने खेलाडीले नगद १० हजार पुरस्कार पाउने पोज, वेस्ट मस्कुलर र वेस्ट टिमले नगद ५ हजार सहित व्यक्तिगत पुरस्कार पाउने आयोजकले जनाएको छ ।
Discussion about this post