धरान /चासोक तङ्नाममा लिम्बू समुदायको संस्कार संस्कृतिलाई जोगाउन विभिन्न खेलहरू खेलेर मनाइएको छ ।
धरानमा पाँच दिनसम्म मनाइने चासोकमा लिम्बू जातीको परम्परागत साँस्कृतिक याक्थुङजन्य खेलहरू ली आप्मा (गुलेली हान्नु), पक्लुम लेप्मा (छेलो हान्नु), थाक्थाक्मा (तान बुन्नु) लगायत हाक्पारे साम्लो र परम्परागत पक्षको प्रदर्शन गरी मनाइएको किरात याक्थुम चुम्लुङ धरान नगरका अध्यक्ष तीर्थ मादेनले बताए ।
लिम्बू जातीको कला र संस्कृति संरक्षण गर्ने दायित्व युवापुस्ताको भएको बताउँदै उनले लिम्बू समुदायको खेलहरू समावेश गरिएको बताए ।
आफ्नोे संस्कार, संस्कृति, कलाको संरक्षण गर्ने दायित्व पनि आफ्नै भएकोले कला संस्कृतिको संरक्षणको जिम्मेवारी युवाहरूलाई हस्तान्तरण गर्न चासोक मार्फत प्रदर्शन गरिएको बताए ।
पछिल्लो समय विभिन्न प्रविधिको विकाससँगै युवा पुस्ताहरूमा पश्चिमी सँस्कृतिप्रति मोह बढ्दै गएकोले उनीहरूलाई आफ्नो जातीय संस्कार, संस्कृतिप्रति मोह बढाउन र चासोक तङ्नामलाई लिम्बूहरूको मौलिक चाडको रूपमा स्थापित गराउन हरेक वर्ष धरानमा चासोक उत्सव आयोजना गर्दै उनले बताए ।
आधुनिकीकरणले लोप हुँदै गएको र गाउँघरमा मात्रै सीमित हुन पुगेको घरबारे युवा पुस्तालाई जानकारी गराउन समेत चुम्लुङ भवन राखिएको उनको भनाइ छ ।
उक्त घरभित्र खेतीपाती गर्दा प्रयोग हुने कृषि सामग्रीहरूसँगै हलो, जुवा, ढिकी जातो, पेरोङ्गो, झोला लगायतका सामाग्रीहरू सजाएर राखिएको छ ।
अन्न पाकेपछि सबैभन्दा पहिले युमा माङलाई चढाएर मात्र मान्छेले खान हुने आदिवासी लिम्बू याक्थुङवाहरूको मुन्धुममा समेत वर्णित भएअनुसार सृष्टिकालदेखि चासोत अर्थात् चासोक मनाउन प्रारम्भ भएको उनले बताए ।
अन्न पाकेपछि चासोक घर–घरमा मनाइने प्रचलन परापूर्वकालदेखि चलेकोमा कियाचुको निर्णयपछि चासोकलाई सामूहिक रूपमा मनाउने प्रचलन पनि धरानबाट नै २०५० सालदेखि सुरु भएको अध्यक्ष मादेनले बताए ।
किरात समुदायमा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा उधौली, चासोक पर्व मनाउने गरिएको छ ।
Discussion about this post