ताप्लेजुङ / पाथीभरामा साढे आठ करोडको भेटी सङ्कलन भएको छ । भक्तजनले गरेको दान रकमबाट सो रकम सङ्कलन भएको हो । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थलमा मनोकामना पुरा होस भनेर भक्तजनहरूले रकम चढाउने गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङले दिएको जानकारी अनुसार गत मङ्सिर मसान्तसम्ममा रु आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ भेटी रकम सङ्कलन भएको छ ।
पछिल्लो दुई महिना अर्थात् कात्तिक र मङ्सिरमा मात्र रु ६८ लाख ११ हजार एक सय १० भेटी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए ।
सङ्कलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मङ्सिर मसान्तसम्ममा रु १० लाख ७० हजार सात सय ८७ खर्च भएको समितिले जनाएको छ ।
सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम ढुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा सो खर्च भएको समितिले जनाएको छ ।
खर्च कटाएर बाँकी रु आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ बैङ्कमा मौज्दात रहेको निर्देशक हाङ्बाङले जानकारी दिए ।
बैङ्कमा मुद्दती खातामा रु छ करोड ८८ लाख मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र रु दुई लाख ५२ हजार चार सय ४० रहेको समितिले जानकारी दिएको छ ।
Discussion about this post